© २०२३
सुर्खेत, २० फागुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा महिला सम्मेलनको आयोजना हुने भएको छ । नगरपालिकाको आयोजनामा महिला सम्मेलनको आयोजना गर्न लागिएको हो । भोलि (सोमवार) वीरेन्द्रनगरको सिटी हलमा आयोजना हुने उक्त कार्यक्रम प्रदेशकै पहिलो महिला सम्मेलन हो ।
अनुभव आदानप्रदानको साथै सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरु सहभागी हुनेछन् ।
एक सय १४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख ढकालले बताइन् । ‘कार्यक्रममा मुख्यगरी उपप्रमुख÷उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ’ प्रमुख ढकालले भनिन्, ‘उक्त कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरिसकेका छौ ।’
प्रदेश तथा जिल्ला देखि पालिका स्तरसम्मका विभिन्न संघ संस्थाहरुसँग आवद्ध प्रतिनिधित्व पठाइदिन अनुरोध गरिसकेको ढकालले बताइन् । जुनुसुकै क्षेत्रमा काम गरिरहेपनि महिलाहरुको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल केन्द्रीत गरिने ढकालले जनाइन् । उक्त कार्यक्रमपश्चात घोषणापत्र नै जारी गर्ने कार्यक्रम तय भएको ढकालको भनाई छ । कार्यक्रममा प्रदेशभरबाट करिव एक हजार जना सहभागी हुने अनुमान गरिएको छ ।