© २०२३
दाङ, १९ फागुन ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोजकुमार थापाले सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताएका छन् । दाङको घोराहीमा सुरु भएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले अन्तरदेशीय सम्वन्ध विस्तारका साथै कला, संस्कृति अन्य देशमा चिनाउने अवसर भएको बताए ।
स्थानीयस्तरमा रहेको कला संस्कृतिको अन्तर्राष्ट्रियकरणसँगै अन्तरदेशीय सम्वन्ध मजवुत बनाउन सहयोग पुग्ने उनले बताए । उनले दाङ कला संस्कृतिका दृष्टिले धेरै अगाडि भएकाले सास्कृतिक महोत्सवका माध्यमबाट कला संस्कृतिको प्रवद्र्धनसँगै प्रचारमा ध्यान दिनुपर्ने बताए । आर्थिक रुपमा कमजोर बनेको अर्थतन्त्रलाई माथि उकास्नका लागि महोत्सवले सहयोगी भूमिका निर्वाह गर्ने भन्दै मन्त्री थापाले हरेक महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले स्थानीय कला संस्कृति र उत्पादनको विकासमा सांस्कृतिक महोत्सवले सहयोग गर्ने बताए । अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवले एकअर्का देशको कला संस्कृतिको बारेमा जानकारी लिने अवसर मिल्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्लाको कला, संस्कृतिसँगै स्थानीय उत्पादनको प्रचारप्रारसँगै आयआर्जनका लागि महोत्सव गतिलो माध्यम भएकाले यसको उद्देश्य अनुसार महोत्सवहरु सञ्चालन गर्दा ध्यानदिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिङ भारती, नेकपा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेय, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य, नेकपा एकिकृत समाजवादीका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मसालका जिल्ला संयोजक रामबहादुर जिएम,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछाने लगायतले मन्तव्य राखेका थिए ।
एभरेष्ट नेपालको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको स्थानीय आयोजनामा सुरु भएको लोक सांस्कृतिक महोत्सव फागुनको २१ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व घोराही बजारमा विभिन्न भेषभुषासहितको ¥याली निकालिएको थियो । ट्राफिक चोकबाट सुरुभएको ¥याली बजारको विभिन्न भागको परिक्रममा गर्दै महोत्सवस्थल पुगेको थियो । अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा कृषि तथा घरेलु उत्पादन, स्थानीय विभिन्न जातजातिसँग सम्वन्धित खानाका स्टलहरु राखिएको दाङ उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक बसन्त जोशीले जानकारी दिए ।