© २०२३
बुटवल, १८ फागुन । रुपन्देही ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भएको आरोप लगाएका छन् । शुक्रबार संसदमा विषेश समय लिएर बोल्दै सांसद शुक्लाले राज्य पक्षका विभिन्न संस्था र व्यक्तिहरुले लुम्बिनीमा शान्ति भंग गर्ने र अशान्ति कायम गर्ने प्रयास गरिरहेको आरोप लगाए ।
अहिलेको मायादेवी मन्दिर भएको स्थानमा पहिला रुमिनदेइ मन्दिर रहेको र नियमित पुजापाठ हुंदै आएको उल्लेख गर्दै उनले रुमिनदेइ मन्दिर भत्काएर मायादेवी मन्दिर बनाएसंगै पुर्वाग्रही हिसाबले पुजाआजा बन्द गर्दा परम्परा रोकिंदा संविधानको धारा ३२ (२) को ठाडो उल्लंघन भएको उनले उल्लेख गरे । परापुर्वकालदेखि नै लुम्बिनीमा हिन्दु, इस्लाम र बौद्धमार्गीबीच एकदमै राम्रो सदभाव कायम हुदै आएको र मिलेर एक अर्काको पर्वमा भाग लिने असाध्यै राम्रो परम्परा भएकोमा राज्य पक्षबाट नै शान्ति खल्बलाउने काम भएको आरोप लगाए ।
१९८३ सालमा सरकारले नै पुजारी नियुक्त गरेर रुमिनदेइ मन्दिरमा नियमित पुजापाठ हुने गरेकोमा मन्दिर भत्काएपछि त्यहां रहेका मुर्तिहरु टुक्रा टुक्रा पारिएको र टिनको छानामुनि लगेर थन्काइएको सांसद शुक्लाले बताए । उनले लुम्बिनीमा कुनै अशान्तिको संकेत फैलिनुअघि नै स्थानीय संघर्ष समितिसंग वार्ता गरेर १९ बुंदे माग पूरा गर्न आग्रह गरेका हुन् ।
संघर्ष समितिले मायादेवी मन्दिर परिसरमा विगतमा हुदै आएको बिहान बेलुकाको पूजापाठ र दिप प्रज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिरलाई बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म खुल्ला राख्न पनि माग गरिएको छ । मायादेवी मन्दिरको भेटीबाट हुनेलगायत अन्य आम्दानीको ५० प्रतिशत हिस्सा स्थानीय पालिकालाई दिन,विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव सहित पदाधिकारीहरु र २ जना कार्यकारिणी सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न माग गरेको छ । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका संघीय सांसद र प्रदेश सभा सदस्य लुम्बिनी विकास कोषका पदेन सदस्य हुनुपर्ने समितिको माग छ ।
संघर्ष समितिले मायादेवी मन्दिरको हालको डिजाइन र संरचना परिवर्तन गर्न नपाइने र गुरुयोजना विपरीतका अनधिकृत संरचना बनाउन रोक्न माग गरेको छ । यस्तै मायादेवी मन्दिर दर्शन र अवलोकनका लागि प्रवेश शुल्क नलाग्ने व्यवस्था गर्न पनि संघर्ष समितिले माग गरेको छ ।
अन्तर्राष्ट्रिय सभाहललाई शान्तिपूर्ण धर्मसभा, प्रवचन वा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने खालको कार्यक्रम गर्न पाउने कार्यविधि यथाशिघ्र बनाई संचालनमा ल्याउन समितिले माग गरेको छ ।
लुम्बिनी विकास कोषको गुरुयोजनाभित्र उल्लेख भए अनुसार लुम्बिनी विकास परिसर भित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र बगैचाको तत्काल निर्माण थालनी गर्न,लुम्बिनी गुरुयोजनाभित्र स्थानीय बाहेकका गाडी प्रयोग गर्न नदिन,लुम्बिनीमा अहिलेसम्ममा उत्खनन्का क्रममा भेटिएका ३९ भन्दा बढी मुर्ति तथा अमुल्य पुरातात्विक बस्तुहरुको अभिलेख सहित लुम्बिनीमा नै पुनःस्थापना गर्न पनि संघर्ष समितिले माग गरेको छ ।