© २०२३
बुटवल,१८ फागुन । औषधि व्यवस्था विभागले दुर्य उद्योगका तीन थरी औषधी न्युन गुणस्तरका भएको फेला पारेपछि विक्रि वितरणमा रोक लगाएको छ । लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको फेला पारेको हो ।
लोमस फर्मास्यूटिकल्स प्रालिको मेट्रो सस्पेन्सन नामक मेट्रोनिडाजोल र हेल्माप्रेन नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ ।
न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
‘मेट्रो सस्पेन्सन नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र हेल्माप्रेन नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ ।
यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित मेट्रो पी नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरकोे भएको पुष्टि गरेको छ । सो औषधिको ब्याच नम्बर २२–१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागका अनुसार, बजार अनुगमनपछि शंका लागेर ती औषधिको नमूना परीक्षण गरिएको थियो । बजारमा पठाइएका औषधि गुणस्तरहीन रहेको पुष्टि भएसँगै विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
औषधि ऐन २०३५ को दफा १४ बमोजिम विभागले बिक्री वितरण रोक्का गरी फिर्ता गर्न निर्देशन दिएको हो । खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।