© २०२३
बुटवल, १८ फागुन । पाल्पाको रामपुरमा शुक्रबार हुने प्रथम लुम्बिनी महिला भलिबल प्रतियोगिता २०८० को उद्घाटन खेलमा लुम्बिनी प्रदेश भलिबल टिमले पाहुना गण्डकी प्रदेशसंग खेल्ने भएको छ । पाल्पा जिल्ला भलिबल संघको आयोजनामा प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रबद्र्धन प्रायोजक, नेपाल भलिबल महासंघको संयोजन, पाल्पा जिल्ला खेलकुद विकास समिति र प्रदेश भलिबल संघको समन्वय, रामपुर नगरपालिका संरक्षक, रामपुर उद्योग वाणिज्य संघ प्रबद्र्धन रहेको प्रथम लुम्बिनी महिला भलिबल प्रतियोगिता २०८० को पाल्पाको रामपुरमा फागुन १८ देखि २३ गतेसम्म हुने भएको हो ।
उद्घाटन खेलमा गण्डकी प्रदेशसंग लुम्बिनी प्रदेशले खेल्ने छ । खेलकुदको उर्वरभुमिका रुपमा पहिचान बनाएको लुम्बिनी प्रदेशमा १० वर्षको अन्तरालमा राष्ट्रिय महिला भलिबल कप प्रतियोगिता हुन लागेको हो । लुम्बिनी प्रदेश टिममा निशा चौधरीको कप्तानीमा आरती चौधरी, अनुषा चौधरी, संचिता चौधरी, सलिना चौधरी, प्रतिभा चौधरी, एलिना चौधरी, मिना सुनार, रितु पुनमगर, रिचा थापा, रोजी थापा, जिना राना छनौट भएका छन । यसैगरि टिम प्रशिक्षकमा अर्जुन घिमिरे, सहायक प्रशिक्षक हस्ती थारु, ब्यवस्थापक लालप्रकाश थापा रहेका छन । यो टिम यसअघि मुख्यमन्त्री कप कोशी प्रदेश खेलेको थियो भने जिल्लास्तरीय धेरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु टिममा समावेश भएका छन ।