© २०२३
काठमाडौँ ।
आज (मार्च १) बाट हिउँदयाम (विन्टर) सकिएर प्रिमनसुन सुरु भएको छ। मौसमविद्का अनुसार अंग्रेजी महिना फ्रेबुअरीसँगै हिउँदयामको पनि अन्त्य भएको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ महिनालाई विन्टर सिजन अर्थात् हिउँदयाम मानिन्छ। मार्च सुरु भएसँगै नेपालको मौसम पनि प्रिमनसुनमा प्रवेश गरेको हो।
मौसमविद्का अनुसार प्रिमनसुनमा बिहान–बिहान मौसम सफा रहने, दिउँसो बादल बन्ने र साँझपख मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ।
‘तर यस्तो आजभोलिबाटै सुरु हुँदैन’, मौसमविद् प्रधानांगले भने, ‘मौसम बिस्तारै त्यसतर्फ अघि बढ्छ।’
मौसमविद्का अनुसार प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म प्रिमनसुन मानिन्छ।
नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो। त्यसअघिसम्मलाई प्रिमनसुन नै मानिन्छ।
मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, त्यसअघिसम्म मनसुन रहन्छ भने त्यसपछि पोस्ट मनसुन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ।
त्यसपछि फेरि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।
यस्तो छ ३ दिनको मौसम अनुमान–
फागुन १८ गते (शुक्रबार)
दिउँसो: सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
फागुन १९ गते (शनिबार)
दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको तराई र कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
फागुन २० गते (आइतबार)
दिउँसो: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र मधेस प्रदेशका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति: देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का पर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
स्रोत : मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन