© २०२३
बुटवल, १५ फागुन । धार्मिक महत्व बोकेको चंम्किपुरस्थित दुर्गा माता भवानी मन्दिरमा शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १५ को कार्यालयको संरक्षण तथा मन्दिरमा दुर्गा माता भवानी मन्दिर संस्थाको आयोजनामा मंगलबार शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा १५ का वडा अध्यक्ष एवं नगर प्रवक्ता शिव राना बैदिक विधि अनुसार मन्दिर परिसरमा पुजापाठसहित मुर्तिको प्राणप्रतिष्ठा गर्दै नगरमा रहेका पुरातन, धार्मिक महत्व बोकेका पर्यटकिय स्थललाई संरक्षण र प्रचारप्रसारमा जोड दिएका बताए । एकिकृत योजना ल्याएर यहाका पर्यटकिय स्थलहरुलाई जोड्दै आर्कषक र पर्यटनमैत्री बनाउने योजनाहरु अघि सारेको उनले दाबी गरे ।
कार्यक्रममा मन्दिर संस्थाका अध्यक्ष सन्तोष सिमागैडाले स्थानिय समाजसेवीहरुबाट आर्थिक संकलन गरि मन्दिरलाई सौन्दर्यकरण थालेको भन्दै यसमा स्थानिय सरकारबाट सहयोग जरुरी रहेको बताए ।
कार्यक्रममा पुर्व गाबिस अध्यक्ष हरिध्वज मल्ल, जनप्रतिनिधिहरु रमा पराजुली, सुर्य काफले, कुल प्रसाद लम्साल, मन्जु दर्जी, सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका प्रेम पौडेल, संस्थाका सदस्य सर्जन खत्रीले पर्यटनको सम्भावना भएका क्षेत्रहरुको अध्ययन गरि लगानी सुनिश्चितामा सरकार लाग्नुपर्ने सुझाव दिए । यसअघि स्थानियको सहभागितामा निकालिएको शोभा कलश यात्रा वडाका विभिन्न स्थान परिक्रमा गरि मन्दिरमा प्रवेश गरेको थियो ।