© २०२३
बुटवल, १२ फागुन ।
सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शनिवार सेवा संचार, सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालले अभियानको ११ औँ स्थापना दिवसको अवसरमा शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष एवं सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्काले जानकारी दिइन् ।
विद्यालयमा रहेका छात्रा र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर संचालन गरिएको उक्त शिविरबाट एक सय बढी जनाले सेवा लिएका छन् । २०७० सालदेखि गुल्मीको मालिका गाउँपालिकाको छापहिलेबाट शुरु गरिएको सुरक्षित महिनावारी राष्ट्रिय अभियानले हजारौँ छात्राहरुलाई महिनावारी स्वास्थ्य सम्वन्धी जनचेतना दिएको अभियन्ता खड्काले बताइन् ।
घरदैलोमै संचालन भएको शिविरबाट धेरै राहत मिलेको झिमझिमियाँकी स्थानीय २८ वर्षिय सिता विकले प्रतिक्रिया दिइन् । ‘महिनावारी अनियमित भएर जाँच्न आएकी उनले विशेषज्ञ डाक्टरलाई भेटेर समस्या राख्न पाउँदा धेरै खुसी लागेको बताइन् ।
यस क्षेत्रमा करिव ७० प्रतिशत जनजाती र दलित समुदायको बाहुल्यता रहेको विद्यालयका प्रधानाध्यापक खडानन्द घिमिरेले जानकारी दिए । सैनामैना नगरपालिकाभित्र सवैभन्दा दुर्गम क्षेत्रमा उक्त विद्यालय रहेको समेत उनको भनाई छ ।
शिविरमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बुटवलले प्राविधिक सहयोग गरेको थियो । अस्पतालका महिला तथा प्रसुती रोग विशेष डा.सरस्वती श्रेष्ठ र स्तन क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डेले विरामीको चेकजाँच गरेका हुन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गरिदै आइरहेको अस्पतालका संचालक वसन्त जिसीले जानकारी दिए ।
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले महिनावारी भएको बेला अझैपनि कतिपय ठाउँमा विद्यालयका छात्रा र महिलाहरुले खुलेर आफ्ना समस्या नराख्ने हुँदा क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुने गरेको देखिएको बताइन् । उनले यस्ता सामाजिक अभियन्ता र कार्यक्रमहरुको माध्यमबाट उक्त समस्यालाई कमी गर्न सघाउ पुग्नेमा विश्वास समेत व्यक्त गरिन् ।