© २०२३
धनगढी, १२ फागुन ।
सुदूरपश्चिममा फागुन १३ गतेदेखि चैत ७ गते सम्म दादुरा रुबेला अभियान सञ्चालन हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खोप अभियान सञ्चालनको तयारी पूरा भएको स्वास्थ्य सेवा निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
९ महिनादेखि ५ वर्षमुनिका २ लाख ९ हजार ७५५ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका ३ लाख १४ हजार ८४ जना गरी जम्मा ५ लाख २३ हजार ८३९ जनालाई स्वास्थ्य कार्यलय र स्थानीय तहले एकै चरणमा खोप लगाउने निमित्त स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले जानकारी दिए ।
सुदूरपश्चिमका तीन जिल्ला कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार २०७९ मंसिर ३ गते देखि २०८० को पुस मसान्त सम्म कैलालीमा ५६ जना, कंचनपुरमा ३८ जना र बाजुरामा १८ जनामा दादुरा–रुबेला संक्रमण पुष्टि भएको छ ।
महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले सबै जिल्लामा खोप दिन लागेको हो । दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ ।
कैलालीमा मात्रै २ लाख ५८ हजार बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
नौ महिनादेखि १५ वर्ष उमेरसमूहका करिब २ लाख ५८ हजार १६५ बालबालिकाहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय कैलाली प्रमुख आशुतोष श्रेष्ठले बताए ।
उनका अनुसार ९६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचालन गरेर खोप दिन लागिएको छ । यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा २९२ स्वास्थ्यकर्मीहरु परिचालन गरिने छ ।
खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय कैलाली प्रमुख श्रेष्ठले आग्रह गरेका छन् ।
खोप अभियानकै क्रममा नियमित खोप छुटेका बालबालिकालाई पनि छुट खोप दिइने छ । नियमित खोप छुट भएका बालबालिकाहरुको खोप कार्ड लिई आउन आह्वान गरीएको छ ।
सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक पनि सुदूपश्चिम भर खोप अभियान सञ्चालन हुन लागेको हो ।