© २०२३
बुटवल, ११ फागुन । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ ।
बैंकको १६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा पत्रकार गौतम र कार्कीलाई जनही २५ हजार रुपैयां नगद राशीसहित २०८० सालको पुरस्कार पुरस्कृत गरिएको हो । गौतम कान्तिपुर दैनिक र कार्की गोरखापत्र दैनिकमाा कार्यरत छन् । यसअघि यो पुरस्कार यमलाल भुसाल र माधव नेपालले प्राप्त गरेका थिए ।
यस्तै बैंकले उत्कृष्ट ग्रामीण शाखाका रुपमा अर्घाखांचीको खनदह शाखा र उत्कृष्ट शहरी शाखाका रुपमा नयां बानेश्वर शाखालाई पुरस्कृत गरेको छ । शाखा प्राुखहरु क्रमशः सरोज पोखरेल र भुवन ढुंगेलले उत्कृष्ट शाखाको पुरस्कार ग्रहण गरे ।
सो अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गरेको र आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि हरेक वर्ष ५० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार दिने गरिएको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको आर्थिक राजधानी भएकाले यो क्षेत्रका समस्या र समाधानका उपायबारे पत्रकारले खोजमूलक पत्रकारितालाई प्राथमिकता दिन सुझाए । उनले रुपन्देहीका पत्रकारहरु निजी क्षेत्रका जायज मागको पक्षमा सधैं सकारात्मक रहेको बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले पांच वटा विकास बैंकहरु मर्ज भएर शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए । ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा रहेका र बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको पनेरुले बताए । सो अवसरमा पुरस्कृत पत्रकारहरु गौतम र कार्की तथा बैंकका ब्राण्डिङ हेड प्रभास राईले समेत आफ्ना भनाई राखेका थिए ।