© २०२३
सुनवल, ९ फागुन ।
नेपाली सेनाको गोरखदल गण परासीले पश्चिम नवलपरासीको सुस्तामा पुस्तकालय निर्माण थालेको छ । सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित नारायणी पारीको सुस्ता गाउँमा रहेको एक मात्र जनता दलित आधारभूत विद्यालयमा सेनाले साढे १३ लाखको लागतमा पुस्तकालय निर्माण थालेको हो । पिछडिएको क्षेत्रको रुपमा चिनिने नारायणी पारीको सुस्ता गाउँमा शिक्षक विद्यार्थी लगायत स्थानीयलाई समेत अध्ययनमा सघाउ पुगोस् भन्ने हेतुले पुस्तकालय निर्माण थालिएको नेपाली सेनाका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए ।
प्रमुख सेनानी श्रेष्ठकै पहलमा पुस्तकालयका लागि साढे ५ सय बढी पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प्रमुख सेनानी श्रेष्ठले पुस्तक हस्तान्तरण गरेका हुन् । झन्डै एक लाख बराबरका विभिन्न विधाका ती पुस्तक प्रमुख सेनानी श्रेष्ठ सहित धादिङ्गको त्रिपुरासुन्दरी २ सल्यान्टार निवासी भरत खत्री र जगतनारायण श्रेष्ठ, निलकण्ड ५ धादिङ्गका बाबुकृष्ण श्रेष्ठको व्यक्तिगत लगानी र रत्नपुस्तक भण्डार लगायतका संघ संस्थाको सहयोगमा खरिद गरिएको हो ।