© २०२३
काठमाडौं,८ फागुन । नेपाल राष्ट्र बैंकले ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको डिपोजिट सुरक्षित रहेको जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले भनेको छ ।
‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको केन्द्रीय बैंकले जनाएको छ ।
पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको राष्ट्र बैंकले जनाएको छ ।