© २०२३
दाङ, २ फागुन।
दाङको देउखुरीमा जिपको ठक्करबाट साइकलमा सवार एकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छिन् । आज अपरान्ह सवा ४ बजेको लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका- ८ पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे प्र ३-०१०२२च १३६९ जिपले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सवार प्यूठान जिल्ला झिमरूक गाउँपालिका-८, गोवडी घर भई हाल राप्ती गाउँपालिका-८ पिपरी बस्ने सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत ३५ वर्षिया राधा बस्नेतको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
उहाँसँगै साईकलमा सवार २० वर्षिया बिपना केसी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायवउपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । गम्भीर घाइते राधाको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते विपनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी मृत्युु हुने दिदी र घाईते हुने बहिनी रहेकाे बताईएकाे छ । मृतकको शब पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीका चालक फरार रहेकाले उनको खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।