© २०२३
काठमाण्डाै ।
यसपालिको हिउँदमा हिमाली क्षेत्रमा हिउँ कम परेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा याे वर्ष नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ परेको छ । हुन त फागुन चैतमा पनि हिमाली क्षेत्रमा धेरै हिउँ पर्न सक्छ । तर धेरै हिउँ जम्ने पुष, माघमा यो वर्ष हिउँ निकै कम परेको छ ।
सोलुखुम्बुको सल्लेरीका ७२ वर्षीय शङ्करबहादुर गुरुङले हिउँद यसरी हिउँविहिन भएको यसअघि नजानिएको बताउनुभयो । यस वर्ष माथिल्लो क्षेत्रमा केही हिउँ परे पनि सल्लेरीमा हिउँ परेकै छैन । सोलुखुम्बु जस्तै जुम्लामा पनि यस वर्ष हिउँ निकै कम परेको छ । अघिल्ला वर्षहरुमा हिउँ पर्ने धेरै ठाउँमा हिउँ परेकै छैन भने परेको ठाउँमा पनि निकै कम छ । जुम्लाको तातोपानी गाँउपालिकाका प्रवक्ता अमरबहादुर रोकाय आफूले बितेको ४० वर्षमा यति कम हिउँको अनुभव नगरेको बताउँछन् ।
समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले जनाएको छ । अमेरिकी विज्ञ एवम् प्राध्यापक माउरी पेल्टोकोले अमेरिकन जिओफिजिकल युनियनको एउटा ब्लगमा गएको हप्ता प्रकाशन गर्नुभएको लेखमा तीन महिनाअघिको तुलनामा सगरमाथाको हिमरेखा २०० मिटर माथि सरेको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले पनि हिउँदयाममा पर्याप्त मात्रामा पानी नपर्दा हिमालय क्षेत्रहरूमा हिउँ घटेको बताएको छ । सामान्यता हिमरेखा पाँच हजार पाँच सय मिटरदेखि पाँच हजार ६ सय मिटरसम्म हुन्छ तर यस वर्ष खुम्बुमा हिमरेखा ६ हजार मिटरमा छ ।
हिमाली क्षेत्रमा हिउँ कम हुँदा त्यहाँको कृषि उत्पादनमा प्रत्यक्ष असर गर्छ भने त्यसले नदी तटीय र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई पनि प्रभावित पार्न सक्ने विज्ञहरु बताउँछन् । हिमताल विज्ञ मोहनबहादुर चन्द हिमालमा कम हिउँ हुँदा त्यसले तल्लो भेगमा बसिरहेका मानिसहरूको जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्ने बताउँछन् ।
खानेपानी, सिँचाइलगायत, जलविद्युत् उत्पादनमा पनि यसको प्रत्यक्ष असर पर्ने देखिन्छ।