© २०२३
सुनवल, १९ माघ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बचाउन नेकपा एमाले अब विकास र समृद्धिको नारा लिएर जनताको माझमा जाने बताएका छन् । शुक्रवार पश्चिम नवलपरासीको रामग्राममा अवस्थित गौतम वुद्धको अस्थीधातु रहेको स्थल रामग्राम स्तुपको निरिक्षण पछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले अब एमाले सशक्त ढंगले प्रस्तुत हुने बताए । देश बर्बादीको बाटोतर्फ गईरहेको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले जनतामा आशाको संञ्चार गराउने गरी एमालेले अभियान थाल्ने बताए ।
आर्थिक विकास तथा समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता तथा सामाजिक सद्भावको मूल एजेन्डा बोकेर एमाले जनताको माझमा जाने उनको भनाई छ । एमाले क्रमशः कमजोर बन्दै गईरहेको छ नि भन्ने प्रश्नमा पोखरेलले गठबन्धनका कारण एमाले एक्लिए पनि जनमत बढ्दै गएको दाबी गरे । एमालेले गरेको राम्रो कामको नतिजाले नै राष्ट्रिय सभा निर्वाचनमा एक सिट जित्न सफल भएको पनि उनको तर्क थियो ।
वर्तमान सरकारकै कारण देशमा भ्रष्टाचार बढेको, सामाजिक सद्भाव खलबलिएको तथा दण्डहिनता बढेको उनले टिप्पणी गरे । पोखरेलले भगवान गौतमवुद्धको एक मात्र सिंङ्गो अस्थिधातु रहेको पवित्र स्थलको विषयमा सृजित विवादका सन्दर्भमा चासो राखेका थिए । पार्टीमा आवश्यक छलफल पछि स्तुपका सन्दर्भमा आधिकारीक धारणा सार्वजनिक गर्ने पनि उनले बताए ।
पोखरेललाई रामग्राम स्तुपमा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी लगायतका जिल्ला तथा प्रदेश कमिटिका एमाले नेताहरु, जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव लगायतले स्वागत गरेका थिए भने रामग्राम स्तुपका सन्र्दभमा नगर प्रमुख धनपत यादवले जानकारी गराएका थिए ।