© २०२३
सल्यान, १७ माघ ।
नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकर्ताको रुपमा नेपाली कांग्रेसले सल्यानमा पनि समुदायमा कांग्रेस अभियान चलाउने भएको छ । जस अनुसार यही माघ २५ गते सल्यानको छत्रेश्वरी–१ दमाचौरमा कार्यक्रम तय गरिएको छ ।
समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी छत्रेश्वरी गाउँपालिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद कृष्ण किशोर घिमिरे खटिएका छन् । उनको उपस्थितिमा दमाचौरमा कार्यक्रम तय भएको र यस अभियानले नागरिकका अपेक्षा, सुझाव र गुनासो बुझ्न ठूलो महत्व राख्ने नेपाली कांग्रेस छत्रेश्वरीका उपसभापति प्रकाश हमालले जानकारी दिए ।
उनले जिल्लाबाट विभिन्न समितिमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता, पालिकामा जिल्लाबाट खटिएका प्रतिनिधि, पालिका कार्यसमिति, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पार्टीका सम्पुर्ण कृयाशिल सदस्य, भातृ संघ संस्थाका नेता कार्यकर्ता एवम् कांँग्रेसप्रति आस्थावान सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।
स्थानीय तहहरुमा वडास्थित सेवा प्रवाह केन्द्र, स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, विकास निर्माण योजना, समुदाय र निजी क्षेत्रको प्रयासमा भएका कामहरू लगायतको अवलोकन गरी सेवा प्रवाहको अवस्था बुझ्ने र समस्या सुन्ने कार्यक्रम कांग्रेसको यो अभियान अन्तर्गत रहने बताइएको छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यमशिलता लगायतमा नागरिकले गरेका प्रयास र सफलताका कथा खोज्ने सुन्ने अवलोकन र संवाद गर्ने, वडा कार्यालयबाट हुने सेवा प्रवाहको अवस्था, समस्याका बारेमा सेवाग्राहीसँग संवाद तथा अन्तरक्रिया छलफल गर्ने कार्यक्रम गरिने कांग्रेसले जनाएको छ ।