© २०२३
बुटवल, १४ माघ । अग्रेज युद्धमा नेपाल अस्तित्व जोगाउने गरि बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिह थापाले मोर्चा सम्हालेका थिए । अत्याधुनिक हातहतियारसहित आएका अग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको थियो । तत्कालिन समयमा युद्धमा पाल्पाको नुवाकोट हुदै बुटवलसम्म प्रयोग भएको सामरिक महत्वको पदमार्गलाई नेपाली सेनाले निमार्ण गरेको छ ।
प्रधानसेनापती महारथी प्रभुराम शर्माको कमाण्ड मार्गनिर्देशनमा मध्यपश्चिम पृतना हेडक्वाटरले १५ लाख रुपैंयाको बजेट बिनियोजन गरेर पदमार्ग निर्माण गरेको गरुणदल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले बताए । ‘नेपाली सेनाले १ सय ७५ मिटर पदमार्ग निर्माण गरेको हो ।’— उनले भने । नेपाली सेनाको क्विक ईम्प्याक्ट प्रोजेक्ट अन्र्तगत जनतामा छिटो प्रभाव पार्ने योजना अनुसार पदमार्गको काम भएको हो ।
युद्धमा प्रयोग भएको यो मार्ग नुन बोक्ने बाटो समेत भएको भन्दै ऐतिहासिक मार्गलाई थप स्तरोन्नती गर्दै जाने तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । सामारिक र ऐतिहासिक पदमार्ग निर्माणमा नेपाली सेनाको महत्वपूर्ण योगदान भएको उनको दाबी छ । यस क्षेत्रमा नेपाली सेना र स्थानीयको अनुरोधमा निर्माण व्यवसायी अनुस श्रीया कन्स्ट्रक्सनका लक्ष्मण थापाले चौतारी जिर्णोद्धार गर्नुका साथै भैरव मन्दिरमा १ हजार लिटरको पानी टंकी सहयोग भएको छ । पर्यटन प्रवद्धर्नमा यो मार्ग उपयोगी हुने उनले बताए ।
सामारिक, ऐतिहासिक गढी, किल्लाको संरक्षणमा योगदान दिदै आएको नेपाली सेनाले अंग्रेजसंगको युद्धमा कर्णेल उजिर सिंहबाट प्रयोग भएको जितगढी नुवाकोट पदमार्गलाई निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच २२ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी ललित बहादुर कुँवर, तिनाउ गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापा, प्रवक्ता यादव अर्याल, तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतलगाएतको उपस्थितिमा मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति याम प्रसाद ढकालले तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठलाई पदमार्ग हस्तान्तरण गरेका हुन ।
नुवाकोटमै तिनाउ गाउँपालिका, नेपाली सेना र साईन रेसुंगा बैंकको सहकार्यमा कर्णेल उजिर सिंहको पुर्ण कदको सालिक बनाईने भएको छ । साईन रेसुंगा बैंकका प्रवन्धक सिईओ प्रकाश पौडेलले सालिक बनाउन सहकार्य गर्ने बताए । नेपाली सेनाले यसअघि सिंढी निमार्ण गरेको थियो । गणले माथागढीमा १० लाख रुपैंया बराबरको सिंढी र रेलिंग बनाउने कार्य गरिरहेको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिए ।