Butwal Today

शासनमा सुशासन हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

९ माघ २०८०, मंगलवार
अ+
अ-

भैरहवा, ९ माघ ।

पूर्वप्रधान्यायाधीश गोपाल प्रसाद पराजुलीले रामको शासनको मूल जड सुशासनको एउटा प्रतिबिम्ब भएको बताएका छन् । उनले रामको पालाको जस्तो शासन होस् भन्ने नेपाली जनताको चाहना भएको बताए । त्यो चाहना पूरा गर्न पहिला आफै उदाहरणीय बन्नुपर्ने उनले बताए ।

भारतको अयोध्यास्थित श्रीराम मन्दिरबाट मंगलबार फर्किएका पूर्वप्रधान्यायाधीश पराजुलीले भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।

उनले भने, ‘भगवान रामको पालामा (रामराज्य) मा कसैप्रति पनि भेदभाव थिएन । सुशासन थियो जनताकै लागि हामी हौं भन्ने कुराको आभास शासकहरुमा हुनुपर्छ । त्यसको प्रतिक को हो भन्दा राम हो । त्यसैको माहोलमा यहाँ (भैरहवा) मा २५–३० हजार मान्छेहरु आए, किन आए भन्दा मानिसहरु त्यस्तै चाहिरहेका छन् ।’ पाँच सय वर्षपछि रामको पुनर्जन्म तथा पुनर्आगमन भएको उनको भनाइ छ ।

नेपालमा हिन्दूराष्ट्र हुन्छ भन्ने प्रश्नको जवाफमा पराजुलीले भने, ‘त्यो असम्भव छैन । रामको प्रतिमा स्थापित गर्नका लागि ५ सय वर्ष लाग्यो । अस्ति भर्खर धर्मरिपेक्षता आएको हो । मलाई लाग्छ यो हट्न धेरै समय लाग्दैन । ’

अयोध्या पुग्दा त्यहाँको व्यवस्थापन हरेर एकप्रकारको आनन्दको अनुभुति भएको उनले बताए । उनले भने, ‘एकदमै खुसीको अनुभुति भएको छ ।’

उक्त अवसरमा बोल्दै युवा समाजसेवी गौरव बोहराले राममन्दिरमा भएको प्राण प्रतिष्ठाको अवसरमा सोमबार भैरहवामा आयोजना गरिएको शोभा यात्रामा उत्साहजनक उपस्थितिले खुसीको अनुभुति भएको बताए ।