© २०२३
पुसको अन्त्य र माघ महिनाको सुरुवातसंगै तराईमा शितलहर चलेका कारण अहिले जनजीवन निकै प्रभावित भएको छ । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन । अस्पतालहरूमा चिसोका कारण उपचाररत बिरामीको चाप छ । चिसोमा बढी देखिने दम, निमोनिया, ब्रोङकाईटिस आदि समस्याका कारण समस्या भैरहेको छ । तराईमा हुस्सुले चिसो बढाएको छ । रूपन्देहीमा केही दिनयता यो बर्षकै चिसो महसुस भएको छ । चिसो बढेसंगै तराईका जनता प्रभावित भएका छन । यतिबेला चिसो मौसमका कारण तराई क्षेत्रका स्थानीय जनता सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । यो अवस्था बढ्दोक्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ ।
केही दिनदेखि तराईमा बाक्लो हुस्सु र चिसो हावाले जनजीवन प्रभावित भएको छ । यतिबेला मौसम चिसो हुने समय भएपनि अकस्मात चिसोको मात्रा बढेको छ । चिसोले खासगरि गरिव र न्यून आय भएकाहरू बढी प्रभावित भएका छन । यो प्रत्येक बर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । पालिकाहरूले पनि विभिन्न स्थान र चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा सुनमा सुगन्ध हुनेछ । त्यसतर्फ पालिकाहरूको ध्यान जानु जरुरी छ ।
अत्याधिक चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन जाडो बिदा दिइएको छ । तर, यो बिदा पनि अपर्याप्त छ । किनभने जाडो अझै बढ्दोक्रममा छ । तसर्थ जाडोको परिस्थिति हेरेर विदामा थपघट गर्नु आवश्यक छ । विद्यालय जाने बालबालिकाहरू नै हुन तसर्थ उनीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालय खोल्ने र बन्द गर्ने निर्णय गर्नु जरुरी छ । अहिले पालिकाहरूको ध्यान चिसोबाट प्रभावितलाई बचाउनेतर्फ जाओस् । अर्कोतर्फ असहाय, गरिव तथा विपन्न नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरूले यसको अगुवाई गरुन ।
विगतका दिनमा पालिकाहरूले चिसोबाट प्रभावितहरूलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गरेका थिए । यो बर्ष भने केही पालिका बाहेक अहिलेसम्म दाउरा वितरण गरेको सुनिएको छैन । दाउरा वितरण गर्ने काम संघीय सरकारको भन्दा पनि स्थानीय सरकारको पहलमा हुनुपर्दछ । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले समेत छिटो आक्रमण गर्छ । नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाहतर्फ प्रयास गर्नुपर्छ । अतः सरकारले पनि चिसोबाट प्रभावितलाई राहत दिने कुरामा ढिलाई नहोस् । अर्कोतर्फ पालिकाहरूले समेत चिसोबाट बढी प्रभावित क्षेत्र र समुदायका मानिसको सुरक्षाका लागि नेतृत्व लिने कुरामा पछि नहटुन । अझै केही दिन यही अवस्था रहने देखिएको छ । मौसमबीदहरूले समेत तराईमा शीतलहर केही दिन रहने उल्लेख गरेका कारण चिसो प्रभावितलाई राहत दिनु जरुरी छ । चिसोकै कारण कोही कसैको मृत्यु भएको दुःखद समाचार सुन्नु नपरोस् । त्यसका लागि राज्यका तीनै तहका सरकारको ध्यानाकर्षण होस् ।