© २०२३
सुनवल, २७ पुस ।
पश्चिम नवलपरासीको सरावलमा गाईभैसीमा खोरेत रोग देखिएको छ । सरावल ६ पुसौलीका पशुहरुमा खोरेतको संक्रमण भएपछि खोप लगाउन सुरु गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले जनाएको छ । केन्द्रका अनुसार सो क्षेत्रमा रहेका झन्डै तिन दर्जन पशुमा खोरेतको संक्रमण भएको पाईएको छ ।
विशेषगरी गत वर्ष खोरेत विरुद्धको खोप नलगाएका र बाहिरबाट खरिद गरेर ल्याएका पशुमा रोग देखिएको हो । समावर्ती क्षेत्रका किसानले भारतबाट बिना चेकजाँच भैसी खरिद गरेर ल्याउने गरेका छन् । जसका कारण पनि खोरेत रोगको संक्रमण फैलिएको हुन सक्ने पशु सेवा विज्ञ केन्द्रकि चिकित्सक विभुती सिंहले जानकारी दिईन् । खोरेत रोग पुष्टि भएका र लक्षण देखापरेका पशुमा खोप लगाउन सुरु गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सरावल गाउँपालिकाका लागि उपलब्ध गराएको ३ हजार डोज खोप मध्ये १ हजार डोज रोग फैलिएको क्षेत्रमा लगाउन सुरु गरिएको छ । खोप लगाउन सुरु भएपछि पशुको स्वास्थ्यमा सुधार हुँदै गएको सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ताले जानकारी दिए ।
सहजै एक पशुबाट अर्को पशुमा सर्ने खोरेत रोग लागेमा खुर भएका पशुको मुख र खुट्टामा संक्रमण देखिन्छ । संक्रमण फैलिँदै जाँदा दुईवटा खुरको छालाहरु कुहिने समस्या हुन्छ । यस्तै सुरुको अवस्थामा पशुको मुखबाट ¥याल आउने तथा मुख भित्रको जिब्रोमा घाउ समेत हुन्छ । रोग बढ्दै जादा पशुको मृत्यु हुने गर्दछ ।
जुन कारणले गर्दा पशुलाई आहारा खान समस्या हुन्छ । गत वर्ष खोरेत रोग प्रकोपको रुपमा फैलिएको थियो । नवलपरासीमा खोरेत रोग नियन्त्रणका लागि सरावल, पाल्हीनन्दन, बर्दघाट, प्रतापपुर, पाल्हीनन्दन र सुस्ताका लागि ३÷३ हजार तथा रामग्राम र सुनवललाई ४८ सय डोज खोप उपलब्ध गराईसकेको पशु चिकित्सक सिंहले बताइन् । थप १९ हजार खोप माग गरिएको छ ।