© २०२३
नवलपुर, २३ पुस ।
विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारीघाट नजिकै नारायणी नदीमा फेला परेको छ ।
प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातीहरुको रातो सूचीमा राखेको हाँस प्रजातीको बैकाल गैरी चरा नेचर गाइड मान चौधरीले शनिबार फेला पारेका हुन् ।
यसभन्दा अगाडि नेपालमा बैकल गैरी चरा ठूला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डीबी चौधरीले बताए ।
जाडो महिनामा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको छ । मंगोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यतिबेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका हुन्छन् ।
यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी आउने गरेका छन भने जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरू आउने भएपछि चरा गणना पनि गर्ने गरिन्छ ।