© २०२३
सुर्खेत, २३ पुस ।
राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागमा एक–एक सिट परेको छ । जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी राष्ट्रियसभाको निर्वाचनको लागि नेकपा एमाले कर्णाली प्रदेशले तीन सिटका लागि उम्मेदवार खडा गरेको छ । जस अन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही, दलित कोटाबाट दैलेखका हिक्मत विक र अन्यबाट मुगुका डिल्लीप्रसाद भट्टले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ता गर्न जाँदा स्थायी कमिटी सदस्य यमलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबजंग शाहदेखि प्रदेश स्तरीय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए । सत्तारुढ गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा कर्णालीमा एमालेको मतभार संख्या कमजोर रहेको देखिन्छ ।