Butwal Today

राष्ट्रपति बुटवल आउँदै, सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने

१९ पुष २०८०, बिहीबार
अ+
अ-

बुटवल ।

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउँदैछन् । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि पौडेल बुटवल आउन लागेका हुन् ।

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउनेछ ।

सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताए ।

’यो किल्ला हामी मातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं–उनले भने–यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।’

किल्लाक्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ ।