© २०२३
दाङ, १८पुस ।
दाङमा एक व्यक्तिको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कबिहीन भएपछि खोजी सुरु गरिएको थियो । शिवराजको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो । स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको हो ।
प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४५ वर्षीय शिवराज केसीको हत्यामा संलग्न बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर मगर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर मगर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र मेघराज कुँवर मगरलाई पक्राउ गरेको हो ।
उनीहरुलाई लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया जंगलमा लुकिछिपी बसेको अवस्थामा गत आइतबार (पुस १५ गते) पक्राउ गरेको हो । केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ६० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो । छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार मृतक केसीको छातीमा गोली लागेको घाउ छ ।
प्रहरीले केसीको हत्यामा प्रयोग भएको एक नाल बन्दुक र बन्दुकमा प्रयोग हुने छर्रा सहित पक्राउ गरेको हो । शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएकोले अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।