© २०२३
बुटवल,९ पुस । ब्यापार मेलाहरु स्टलमा सामान किनमेल अनि बाल उद्यान र सांस्कृतिक कार्यक्रममा रमाउने थलो मात्र नभई नृत्य,गायन जस्ता मनोरन्जन विधामा राम्रो प्रतिभा भएकाहरुका लागि कला देखाएर व्यवसायिक करियर शुरु गर्ने र राम्रै नगद राशी पुरस्कार पाउने थलो पनि बन्दै गएका छन् ।
रुपन्देही ब्यापार संघले पुस ५ गतेदेखि बुटवलमा सञ्चालन गरेको लुम्बिनी एक्स्पो अन्तराष्ट्रिय ब्यापार मेलाले पनि नृत्य प्रतिभाहरुले कला देखाउने र एक लाख रुपैयांसम्म नगद पुरस्कार पनि जित्न सकिने अवसर प्रदान गरेको छ । रुपन्देहीमा आयोजना हुने मेला महोत्सव मध्ये नृत्य विधामा संभवतः सबैभन्दा ठूलो पुरस्कार राशीको डान्स आइडल २०८० को विजेतालाई आयोजकले एक लाख एक हजार नगद पुरस्कार दिंदैछ ।
यो प्रतिया्ेगितामा भाग लिएका डान्सरले नेपाली संगीतमा फ्रि स्टाइल (भर्सटायल) प्याटर्नमा नाच्नुपर्छ । अर्थात कुनै निश्चित गीतमा होइन जुनसुकै गीतमा नाच्न सक्नुपर्छ ।
प्रतियोगितामा दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । विजेता,उपविजेता र तेस्रो हुनेले पाउने पुरस्कार रकम पौने २ लाख हुन्छ । यो पुरस्कार राशी आकर्षक नै हो । यसवाहेक विजेताहरुलाई विभिन्न कम्पनीले उपहार दिनेछन् भने उनीहरुले म्युजिक भिडियो र फिल्ममा नाच्ने अवसर पनि पाउन सक्छन् ।
राम्रो पुरस्कार राशीले आकर्षित गरेर प्रतियोगितामा ५५ जनाले भाग लिएका थिए । जसमध्ये अडिसनबाट २७ जना छनोट भए र ती मध्ये १२ जना भोटिङ राउण्डमा आएका थिए । १२ जना मध्ये निर्णायकको मूल्यांकन ५० अंक र दर्शकले दिने भोटको ५० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जाने प्रतियोगिताको नियम छ । आइतबार उत्कृष्ट १० जनामा सायना रम्तेल,ट्वीङ्कल श्रेष्ठ,बिहानी थापा,किन्जल मल्ल,सतिश सेन्चुरी,आरोही काउचा,निसिम झेडी,आकृति परियार,सौजन्या कार्की र किरण भण्डारी छनोट भएका छन् ।
एक्स्पोका सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशराज पौडेलले नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन ठूलै रकम खर्च गरेर डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए । पुरस्कार रकम वाहेक डान्स आइडल कार्यक्रम सञ्चालकमा समेत ठूलो रकम खर्च हुने गरेको उनले बताए । ‘स्थानीयस्तरको प्रतियोगितामा नाचेरै एक लाख पुरस्कार पाउनु चानचुने कुरा होइन, डान्स आइडलमार्फत हामीले नृत्य प्रतिभाहरुलाई अघि बढ्ने प्लेटफर्मसंगै नयां प्रतिभालाई नृत्यमा पनि राम्रो संभावना छ भन्ने सन्देश दिएका छौं’–पौडेलले भने–‘डान्स आइडल एक्स्पोको एउटा आकर्षण र अभिन्न पाटो नै बनेको छ ।’
प्रतियोगिताका संयोजक लोकेन्द्र शाहले दर्शकको भोटिङमा देखिएको विकृति रोकेर प्रतियोगितालाई स्वच्छ,विवादरहित र पारदर्शी बनाउन पहल गरिने बताए ।
यस्ता प्रतियोगिताले स्थानीयस्तरमा थुप्रै राम्रा कलाकारहरु जन्माइसकेको र उनीहरु अहिले ख्यातिप्राप्त डान्सर,म्युजिक भिडियोमा मोडेल र नृत्य प्रशिक्षकसम्म भएर राम्रो आय आर्जन गर्न सफल भएका बताए । ‘डान्स विधा अहिले मनोरन्जन र आय आर्जनको राम्रो माध्यम भएको छ, अर्कोतिर यसले मान्छेलाई स्वस्थ, निरोगी र फुर्तिलो बनाउंछ’–शाहले भने–‘ बुटवलमा मेला महोत्सवमा रुपन्देही ब्यापार संघले नै डान्स आइडल शुरुवात गरेको हो र अहिलेसम्म थुप्रै डान्सर एक्स्पोले उत्पादन गरिसकेको छ । ’
लुम्बिनी एक्स्पोमा डान्स आइडल वाहेक विद्यालयस्तरीय लोक नृत्य, दोहोरी गीत प्रतियोगिता,भजन र ¥याप प्रतियोगिता पनि भइरहेका तर ठूलो पुरस्कार राशीका कारण डान्स आइडलमा दर्शकको पनि चासो रहेको शाहले बताए । प्रतियोगिताको फाइनल पुस १७ गते हुने संयोजक शाहले बताए ।
दर्शकको भोट सधैं विवादित र अपारदर्शी
दर्शकले दिने भोटले प्रतियोगितालाई रोचक पनि बनाउने गरेको छ । तर दर्शकको भोट सधैं विवादित र अपारदर्शी बन्ने गरेको आरोप लाग्दै आएको छ । यसमा आयोजक गम्भीर बन्न जरुरी छ । किनकी प्रतियोगीको प्रस्तुति हेरेपछि राम्रो प्रतिष्पर्धीलाई भोट दिने व्यवस्था हुनुपर्नेमा प्रतियोगीले आफन्त र साथीभाइलाई प्रवेश गेट निर परिचालन गरेर भित्र आउने दर्शकसंग टिकटको अर्धकट्टी मागेर / खोसेर संकलन गरी भोट हाल्ने गरिएको छ । र फाइनलतिर आइपुग्दा त आर्थिकरुपमा सम्पन्न प्रतियोगी वा उसको संस्थाले एकमुष्ट टिकट खरिद गरेर भोट हाल्दै उपाधि जित्नेसम्मका गलत अभ्यास विगतका मेला महोत्सवमा हुने गरेका छन् ।
कला र संगीत क्षेत्रमा तीन दशक भन्दा बढी समय बिताएका बुटवलका अग्रज संगीतकार सुरेश सेन्चुरी बुटवलमा आयोजना गरिने डान्स र गायन प्रतियोगिताले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकार जन्माएको बताउंछन् । बुटवलमै नृत्य सिकेकी टेरिया फौजामगरले भारतको चर्चित डान्स रियालिटी शोको उपाधि जितेको देखि अन्य प्रतिभाले निकै राम्रो प्रगति गरेका सेन्चुरीले उदाहरण दिन्छन् ।
तर सेन्चुरीले पनि दर्शकको भोटिङ भनेर प्रचार गरे जस्तै सांच्चिकै दर्शकले भोट दिएको कुरा पारदर्शी,विश्वसनीय र निष्पक्ष हुन नसकेको औंल्याए । मान्छे परिचालन गरेर टिकटको अर्धकट्टी जम्मा गरेर अनि पैसाकै बलमा एकमुष्ट टिकट किनेर उपाधि जित्ने परिपाटी अत्यन्त गलत भएको र यसले आर्थिक रुपमा विपन्न तर क्षमतावान प्रतिभामाथि साह्रै ठूलो चोट पुग्ने हुंदा केही पैसाको लोभमा आयोजकले यस्तो परिपाटी रोक्नैपर्ने सेन्चुरीको सुझाव छ ।
‘आयोजकले यस्ता प्रतियोगिताका लागि राम्रै स्पोन्सर पनि पाएका हुन्छन् त्यसकारण प्रतियोगितालाई स्वच्छ र मर्यादित बनाउन निर्णायक र आयोजक इमान्दार बन्नैपर्छ,अन्यथा यस्ता प्रतियोगिताको गरिमा र विश्वसनियता हुंदैन र कतिपय अवस्थामा यस्ता विकृतिले मेला महोत्सव नै बिथोलिनेसम्मका अवस्था आउन सक्छन्’–सेन्चुरीले औंल्याए-‘यस्तो विकृति रोक्न स्टेजको अघिल्तिर सबै प्रतियोगीका नाममा बाकस राखिदिने र प्रतियोगीको प्रस्तुति हेरेर भ्याएपछि सोही दिन निश्चित अवधिभित्र मात्र भोट हाल्न पाउने व्यवस्था गर्नुपर्छ । यसो गरेमा मात्र प्रतियोगिता विवादरहित, निष्पक्ष र पारदर्शी हुन्छ । अनि राम्रो कला भएको प्रतियोगीले जित्छ । रुपन्देही ब्यापार संघले यो एक्स्पोमा यति विकृति रोक्न सक्ने हो भने डान्स आइडल सांच्चिकै उत्कृष्ट र उदाहरणीय प्रतियोगिता हुने छ । ‘
प्रतियोगिताका निर्णायकहरुमा सुन्दर गुरुङ,मिना बुढाथोकी र सुमन पौडेल छन् ।