© २०२३
पाल्पा, ३० मंसिर ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पाटी सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताएका छन् । नेपाली काँग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले पाटी सभापति देउवाले विधान अनुसार काम गर्न नसक्दा पार्टीभित्र अराजकता फैलिदै गएको दावी गरे । पाटी सभापति देउवाले अधिवेशन भएको ६ महिना भित्रै सबै विभागहरु गठन गरेर पार्टीलाई चुस्त दुरुस्त बनाउनु पर्नेमा विधान अनुसार काम नगर्दा पार्टीको क्रियाशिलता कमजोर भएको महामन्त्री थापाले बताए ।
पार्टीलाई व्यक्ति केन्द्रित भन्दा पनि संस्था, विधि विधान केन्द्रित बनाउन ठुलो जोखिम लिएर आउने विधान समितिमा प्रस्ताव लैजाने महामन्त्री थापाले बताए । “साथीहरु संग मिलेर मैले विधान समितिमा ठुलो जोखिम उठाउने गरी विधान संशोधनको प्रस्ताव लैजादै छु”, पार्टी कार्यकर्ताबाट साथ चाहेको छु”–महामन्त्री थापाले भने । पार्टीलाई गुटबन्दीबाट अन्त्य गर्नको लागि पार्टीको वडा कमिटीदेखि केन्द्रीय सभापति सम्म काँग्रेसका क्रियाशिल सदस्यले प्रत्यक्ष मत जाहेर गर्न पाउने गरी विधान संशोधनको लागि तयारीमा जुटेको महामन्त्री थापाले बताए । पार्टीभित्र क्रियाशिल सदस्यबाट नेतृत्व चुन्ने व्यवस्था लागु भएको दिन काँग्रेसमा गुटवन्दीको अन्त्य हुने दावी महामन्त्री थापाले गरे ।
वर्तमान सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम नभएकोले यसको प्रमुख दोष नेपाली काँग्रेसको भागमा पनि परेको नेपाली काँग्रेसका महामन्त्री थापाले बताए । वर्तमान सरकार भ्रष्टाचार तथा अनियमितामा फस्दै गएको, तस्करी र ठगीका घटनामा मुछिंदै गएकोले यही अवस्थामा नेपाली काँग्रेसले सधैभरी प्रचण्डलाई काँध थापिरहन नसक्ने महामन्त्री थापाले बताए ।