© २०२३
पाल्पा, २७ मंसिर । पाल्पाको सदरमुकाम तानसेनको वडा नं. ५ कैलाशनगरमा निर्माण भएको श्रीनगर सांस्कृतिक डबली लुम्बिनी प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलाई चावी दिई डवली हस्तान्तरण गरेका हुन ।
लुम्बिनी प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ बजेटमा प्रतिक्षा कन्ट्रक्सन निर्माण कम्पनीले २०७६ साल असार ८ गते बाट निर्माण कार्य शुरु गरी ३ बर्ष लगाएर २०७९ साल असार ८ गते निर्माण सम्पन्न गरेको थियो । कम्पनीले दुई पटक ६, ६ महिनाको म्याद थपेर काम सम्पन्न गरेको हो ।
स्थानीय कला संस्कती लाई बचाउन, प्रचार प्रसार गर्न, पाल्पाको कला संस्कृतीलाई अन्य स्थानमा फैलाउन, पर्यटकहरूलाई आनन्द दिलाउँदै तानसेनमा पर्यटकहरूको बसाई लम्वाउन श्रीनगर सांस्कृतिक डवलीको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री चौधरीले बताए । तानसेन नगरपालिकाले दैनिक कार्यतालिका बनाएर यस क्षेत्रको सबै किसिमका कला संस्कृतिहरू प्रदर्शन गर्नुपर्ने तानसेन आउँदा सबैले टिकट काटेर हेर्न पाउनु पर्ने व्यबस्था मिलाउन मुख्यमन्त्री चौधरीले तानसेन नगरपालिकालाई अनुरोध गरे ।
पाल्पामा नेवारी, मगरी तथा बाहुन क्षेत्री, गन्धर्वहरूको कला संस्कृतीको प्रस्तुती बाट यस क्षेत्रमा रोजगारी तथा आयआर्जनमा बृद्धि हुने प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए । प्रदेश सभा सदस्य विर बहादुर राना, खेम बहादुर सारु संविधानसभा सदस्य नारायणी शर्मा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतले खुला प्रकृतिको सांस्कृतिक डवली नेपालमै नुमना शैलीको भएकोले तानसेन नगरपालिकाले बिस्तृत कार्ययोजना बनाएर नियमित रूपमा सांस्कृतिक डबल संचालन गर्नुपर्ने बताए ।
डिभिजन वन कार्यालय पाल्पा हँुदै हाल पर्यटन डिभिजन कार्यालय भैरहवाको मातहतमा रहेको श्रीनगर सास्कृतीक डवलीलाई पुन रंग रोगन तथा सरसफाई गरी तानसेन नगरपालिका लाई हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश सरकारकै सहयोगमा तिनाउ गाउँपालिका–२, दोभान नुवाकोटमा तीन करोड ८४ लाखमा सांस्कृतिक डबली निर्माण भएको छ ।