© २०२३
बुटवल, २५ मंसिर ।
सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ नारासहित बुटवलमा पाँचौ संस्करणको सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नया वर्षको अवसरमा पुस १४, १५ र १६ गते हुने खाना महोत्सवका लागि २७ वटा उपसमितिहरु गठन गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।
‘बुटवलको पहिचान दिने गरी संस्कृतिको रुपमा यो कार्यक्रम रहेको छ’—उनले भने । यहाँका आन्तरिक पर्यटकहरुलाई मौलिक कला, संस्कृति तथा खानाका परिकार चखाउने लक्ष्यसहित अग्रेजी नया वर्षमा भब्य कार्यक्रम गर्न लागेको उनले बताए । नयाँ वर्षको बिदामा घुम्ने प्रचलन बढेको बेला बुटवलको गौरवका रुपमा कार्यक्रमको पाचै संस्करण आयोजना गर्न लागेको उनले बताए । बुटवल वडा नं ९ कालिकापथस्थित तीनकुनेदेखि उत्तरतर्फ नया बसपार्कसम्मको सडकमा पाँचौ बुटवल सडक खाना महोत्सवमा विभिन्न जातजातिको पहिचान हुने खालका खानाका परिकारहरु राखिने उनले बताए ।
ठमेल मानिने कालिकापथ लाईनलाई रात्रीकालिन सेवा बिस्तारको दबाबका रुपमा समेत कार्यक्रमलाई हेरिदै आएको छ । स्थानिय पालिका, सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरुको सहयोग भए यो क्षेत्रलाई रात्रीकालिन सेवा बिस्तार गर्ने सम्भावना रहेको उनले बताए ।
साझ ६ देखि १२ बजेसम्म आयोजना हुने कार्यक्रममा दैनिक रात्रीकालिन विविध सास्कृतिक कार्यक्रम गरिने सास्कृतिक संयोजक माधव कुमार खनालले बताए । मगर, नेवारी, थारु, क्षेत्री लगायतका संस्कृति झल्किने सास्कृतिक नाचका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।
संघका सचिव थम्मन बहादुर भण्डारीले महोत्सवमा एक सय खानाका स्टलहरु राखिने बताए । कालिका पथको दुबै किनारालाई सजाएर पर्यटकलाई भुलाउने गरि बनाईएको उनले बताए ।