Butwal Today

बुटवल १० मा निःशुल्क आँखा चेकजाँच शिविर

१८ मंसिर २०८०, सोमबार
अ+
अ-

बुटवल, १८ मंसिर ।

बुटवल उपमहानगरपालिका वडा नं. १० की ७३ वर्षीय रेनुका अधिकारी आफ्नै वडामा निःशुल्क आँखा परीक्षण गर्न पाउदा खुशी भइन् उनले यस्ता शिविरले अस्पताल धाउन नपर्ने र आँखामा के समस्या छ थाहा पनि पाइने बताइन् । “वडाले धेरै नै राम्रो कार्यक्रम ल्याएको छ, अन्य समयमा पनि यस्तै कार्यक्रमहरु आयोजना गरेमा धेरै जनालाई फाइदा पुग्छ”–उनले भनिन् ।

उनी मात्र होइन अन्य सदस्यहरू पनि निःशुल्क आँखा परीक्षण गर्न पाउँदा खुशी छन् । आयोजक पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा मित्र समाज काठमाडौंको सहयोग एवम् काठमाडौं महानगरपालिका ३२ स्थित मेट्रो आइ केयर र बुटवल ८ स्थित मेट्रो आइ केयर लुम्बिनीको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । अध्यक्ष विनोद बस्यालले विपन्न परिवारका ब्यक्तिहरुका लागि नि शुल्क आँखा चेकजाँच, औषधि वितरण तथा मोतियाबिन्दु शल्यक्रिया समेत गरिदिने गरी शिविर आयोजना गरेको बताए ।

त्यस्तै कार्यक्रम संयोजक वडा नं. १० कार्यपालिका सदस्य रमेश प्रसाद अधिकारीले यस निःशुल्क आँखा परीक्षणले स्थानीय बासिन्दा लाभान्वित भएको र जेष्ठ नागरिकलाई सजिलो भएको बताए । आखा शिविरमा महिला ४७ र पुरुष ४० गरी जम्मा ८७ जनाले आँखा परीक्षण गराएका छन् ।