© २०२३
सुर्खेत, १८ मंसिर ।
नेकपाएमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले आज दैलेखको सदरमुकाम पुरानो बजारमा रहेको कोतगढी अवलोकन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रहेका अध्यक्ष ओलीलगायतका नेताहरूको टोली कोतगढीमा गई गढी निरीक्षण गरेका हुन ।
उक्त गढी दैलेखको पर्यटन प्रवद्र्धनको मुख्य आधार बन्ने देखिन्छ । सो गढीको विषयमा अरु खोज अनुसन्धान हुन बाँकी नै रहेको छ । यो किल्लाबहादुर शाहको नायबीकालमा बाइसी राज्यहरूको एकीकरण अभियान अन्तर्गत वि.सं १८४६ तिर गोरखाली सेनाले निर्माण गरेको मानिन्छ । गढी निर्माण भएपछि विलासपुर गढीमा रहेका सामरिक खजानाहरू त्यहाँ सारिएको बताइन्छ ।
सो गढीलाई ऐतिहासिक युद्ध किल्लाको रूपमा चिनिन्छ । यो सैन्य गढी अत्यन्त कलात्मक डुङ्गाले निर्माण गरिएको छ । किल्लाको भित्री सतहबाट २ मिटरसम्म अग्लो ढुङ्गे पर्खाल रहेको गढीको निर्माण बाइसे राज्यहरूमाथिको विजय अभियान अन्तर्गत गोर्खाली सेनाले गरेको मानिन्छ ।
गढीको सबै पर्खालहरूमा बाहिर हेर्न सकिने गरी त्रिकोण आकारका १३ वटा प्वालहरू बनाइएका छन् । गढीको निर्माण अत्यन्त कलाकौशलयुक्त वास्तुकलाबाट गरिएको छ ।