© २०२३
बुटवल, १४ मंसिर ।
नेकपा एमालेले आज बिहीबारदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्दैछ । यात्राको उद्घाटन बिहान ८.३० बजे हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली झन्डा फहराएर शुभारम्भ गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग बिभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सङ्कल्प यात्राको उद्घाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहिद दशरथ चन्द, बलदेव रिचपलेको सालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासङको भेटघाट रहेको छ ।
यो यात्रा मध्य पहाडी लोकमार्गकेन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट,सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।
यसअघि बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् ।
बिहीवारबाट सुरु हुन लागेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राको उदघाटनका लागि बैतडी पुगेका अध्यक्ष ओलीले साँझ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका हुन् ।
मन्दिरको दर्शनपछि ओली सन्ध्याकालीन आरतीमा समेत सहभागी भए । सन्ध्याकालीन आरतीमा सहभागी भएका एमाले अध्यक्ष ओलीलाई प्रसाद स्वरूप मन्दिरका मुल पुजारीले तामाको गाग्री उपहार प्रदान गरेका थिए ।
एमाले अध्यक्ष ओलीसँगै केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो सदस्य, केन्द्रीय कमिटी सदस्यहरूले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेका थिए । त्यसलगत्तै अध्यक्ष ओलीले एमाले जिल्ला पार्टी कार्यालय उद्घाटन गरेका छन् । यसअघि बुधबारै बैतडी पाटनमा आयोजना गरेको कार्यक्रमलाई पनि अध्यक्ष ओलीले संबोधन गरेका थिए ।