© २०२३
धनगढी ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो । अप्रेसनका क्रममा चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तहरूको दाबी छ । अप्रेसनका क्रममा शिशुको मृत्यु भएपछि आमाको पेटमा टाँका समेत नलगाएर डाक्टर अन्जना शर्मा फरार भएको सुत्केरीका आफन्त सुरेश सुनारले आरोप लगाए ।
‘मङ्गलवार बिहान ७ बजे हामी अस्पताल गएका हौँ । बच्चा र आमाको अवस्था ठिक छ भनेर अस्पतालले भर्ना लियो । राती ९ बजे सम्म पनि चिकित्सकहरूले सामान्य डेलिभरी भइहाल्छ भनेर वास्ता गरेनन् । राति मात्रै अपरेसनका लागि लगे । अप्रेसनका क्रममा शिशुको मृत्यु भएपछि सुत्केरी ताराको पेट काटिएकै छोडेर डाक्टर अन्जना शर्मा अस्पतालबाट फरार भइन्, ‘सुनारले भने । अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ । सुत्केरीका आफन्तहरू आक्रामक शैलीमा कुटपिटमा उत्रिएपछि चिकित्सकहरू क्वाटरमा बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेर बहादुर कमरले बताए ।
‘मेसिनबाट जाँच गर्दा आमा र बच्चाको अवस्था ठिक थियो । नर्मल डेलीभरीमा समय लागेपछि राति सिएस् गर्दा बच्चा मृत निस्किएको भनिएको छ । केहीवेरमा उपचारमा संलग्न डाक्टरहरूसँग छलफल हुन्छ, अनि सत्य तथ्य बाहिर आउँछ,’ मेसु कमरले भने ।
सुत्केरीका आफन्तहरूले लापरबाही गर्ने चिकित्सहरुमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।