© २०२३
धनगढी,२ मंसिर । कैलालीको धनगढीमा आगलागीबाट एक अस्पताल सहित ८ पसलमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका १ स्थित सारथि अस्पतालसँगै जोडिएका आठ पसलमा आगलागी भएको हो । दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा राती एक बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना,तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना,सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलाली नैनादेवीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली आगलागी नियन्त्रणका लागि खटिएको थियो ।
आगलागी नियन्त्रण कार्य भइरहेकोले क्षतीको विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक पालले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । आगो निभाउन धनगढी उप महानगरपालिकाको २ वटा,गोदावरी नगरपालिकाबाट १ वटा,पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल प्रयोग गरिएको छ । क्षतिको विवरण आउन बांकी छ ।
कहां कहां भयो क्षति ?
१.दल भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२.टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप बेवी सपको गोदाम
३. बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर ब्याग हाउस
४.जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर कपडाको गोदाम
५.यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी कपडा,जुत्ता,व्यागको गोदाम
६.गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर जुत्ता चप्पलको गोदाम
७.सारथी अस्पताल कैलाली
८.जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स व्याग हाउस