© २०२३
रोल्पा, २४ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फुट र विभाजनका कारण माओवादी शक्ति कमजोर भएको स्वीकारेका छन् । रोल्पाको थवाङ गाउँपालिकामा निर्मित थवाङखोला पुलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ३ वर्ष अघि निर्मित १६९ मिटर लामो उक्त पक्की पुलको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले थवाङमा आयोजित गाउँपालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई समेत सम्वोधन गरेका थिए । प्रशिक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले फुट र विभाजनका कारण माओवादी शक्ति कमजोर भएको वताउँदै यसलाई शक्तिशाली बनाउन एकीकरण र ध्रुवीकरणको प्रकृया सुरु भएको बताए । “माओवादी धाराको एकीकरण यथाशीघ्र हुन्छ”– प्रधानमन्त्री प्रचण्डले भने । “पार्टी एकताका लागि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसंग निकटता रहेकाले यसले यथाशीघ्र मूर्त रुप लिन्छ”– प्रधानमन्त्री प्रचण्डले भने ।