© २०२३
गुल्मी, २० कार्तिक । गुल्मीमा पालिकास्तरीय प्रथम भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा भएको महिला तथा पुरुष तर्फका दुवै खेलमा सत्यवतीले उपाधि चुमेका हो ।
पुरुषतर्फ फाईनल खेलमा कालिगण्डकी गाउँपालिकालाई ३—० को सोझो सेटमा पराजित गर्दै सत्यवतीले उपाधि चुम्यो । उपाधिसंगै सत्यवतीले नगद ७७ हजार ७ सय ७७ रूपैंया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता कालिगण्डकी गाउँपालिका नगद ५५ हजार ५ सय ५५ रूपैंया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा चन्द्रकोट गाउँपालिकाले तृतीय हुदै नगद ३३ हजार ३ सय ३३ रूपैंयाबाट पुरस्कृत भयो ।
महिलातर्फ भएको बेष्ट अफ थ्रि को खेलमा सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई २—१ सेटमा पराजित गर्दै उपाधि हात पारेको थियो । उपाधिसंगै सत्यवती नगद ३५ हजार रुपैया, कपबाट पुरस्कृत भयो । खेलमा कालीगण्डकी दोश्रो र गुल्मीदरबार गाउँपालिका तेश्रो स्थान हासिल गरेको जिल्ला भलिबल संघ गुल्मीमा महासचिव नारायण आचार्यले बताए ।
सोही अवसरमा जिल्ला भलिवल संघले भलिवल खेलको विकासमा योगदान गरेका अग्रज खेलाडीहरू छवि खरेल, नवराज श्रेष्ठ, कृष्ण थापा, हरिप्रसाद पाण्डेय, बालसिंह काउछा, गोविन्द कुवँर र सुर्य बहादुर मिदुनलाई सम्मान गरेको छ । त्यसैगरि नवौ राष्ट्रिय लुम्बिनी प्रदेश स्तरीय भलिवल खेलमा प्रथम हुने दिपेन्द्र श्रेष्ठ, हेमन राना, मौसम कुवँर, कमल श्रेष्ठ, चिरन्जीवि खड्का, बिनोद विक, वविन थापा, डोल बहादुर थापा, राजन विक, विश्वास सुनार र कोच मनोज गुरुङ्गलाई पनि संघले सम्मान गरेको छ ।
जिल्ला भलिवल संघ गुल्मीका अध्यक्ष राजन कुवँरले जिल्लामा भलिवल खेलको ईतिहासलार्ई जीवन्त राख्न र राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि प्रतियोगीता आयोजना गरिएको बताए । उनले प्रतियोगिताको माध्यमबाट नयाँ प्रतिभावान खेलाडीहरूले अवशर पाउने जनाएका छन । जिल्ला भलिवल संघ गुल्मीले सदरमुकाम तम्घासमा कात्तिक १५ देखि पालिका स्तरीय प्रथम भलिवल कप सञ्चालन गरेको थियो ।