© २०२३
बुटवल,८ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा दुवै पक्षले विनाशर्त तत्काल युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।
उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको पनि बताएका छन्।
राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने धारणा राखे।
‘नागरिकको सुरक्षा गर्नु भनेको १० लाखभन्दा बढी मानिसलाई आश्रय, खाना, पानी, औषधी र इन्धन नै नभएको दक्षिणतिर लखेट्नु होइन’, इजरायलको नाम नै नलिई उनले भने।
उनले हमासले गरेको हमला शून्यतामा भएको होइन भनेर पनि बुझ्न जरुरी रहेको बताए। इजरायली अधिकारीहरूले महासचिव गुटेरेसको सम्बोधनप्रति आपत्ति जनाउँदै उनले राजीनामा दिनुपर्ने बताएका छन्। उनीहरूले गुटेरेसको भनाइले आतंकवादलाई बढावा दिएको दाबी गरे।
हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर एक हजार ४००नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाको प्रयोग गरेर निरन्तर आक्रमण गरिरहेको छ।
इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनको ज्यान जानुका साथै लाखौँ घरबारविहीन भएका छन्।