© २०२३
सल्यान (बुटवलटुडे), १ कार्तिक । सल्यानका एक युवाले पर्यटन प्रवद्र्धनका लागि भन्दै काठमाण्डौँ देखि सल्यान सम्मको साईकल यात्रा पुरा गरेका छन् । सल्यानका निषेध दाहालले आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसारका लागि ५०९ किलोमिटर भन्दा बढी लामो साईकल यात्रा गरेका हुन् । गत बिहीबार काठमाण्डौँ स्थित पशुपतिनाथबाट यात्रा गरेर मंगलबार सल्यान आइपुगेका साईकल यात्री दाहाललाई छत्रेश्वरी गाउँपालिकाले सम्मान गरेको छ ।
गाउँपालिका कार्यालयमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी गाउँपालिका सहित जिल्लाभित्र ऐतिहासिक महत्व बोकेका स्थलहरू रहेको भन्दै प्रचारप्रसारका लागि निषेध दाहालले गरेको प्रयासको प्रसंशा गरे । उनले छत्रेश्वरी गाउँपालिका पर्यटनको दृष्टीले एक उत्कृष्ट गन्तव्य भएको र पालिका भित्रका पर्यटकीय, धार्मीक, ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएतले दाहाललाई स्वागत र सम्मान गर्दै हरेक युवाहरू असल र उदाहरणीय बन्नुपर्ने धारणा राखेका थिए । छत्रेश्वरी, ३ मूलखोला निवासी २४ वर्षिय दाहाल सेवा नै धर्म हो भन्ने सन्देश सहित सल्यानको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, खड्गदेवी मन्दिर लगाएतका क्षेत्रको तस्वीर टाँस गरी साईकल यात्रा गरेका हुन् ।
यात्राको क्रममा विभिन्न स्थानमा धेरै व्यक्तिबाट आफुलाई सकारात्मक साथ सहयोग मिलेको भन्दै उनले सल्यानका पर्यटकीय क्षेत्रले धेरैलाई आकर्षण गर्न सक्ने बताए । ‘यात्राको क्रममा कुनै अफ्ठेरो भएन, खान, बस्न तथा साईकल मर्मतका लागि पनि विभिन्न ठाउँमा सहयोग प्राप्त भयो’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि साईकल यात्रालाई सबैले सकारात्मक रूपमा लिनुभएको छ ।’ दाहालले बुधबार विहान खैरावांगको दर्शन गर्ने तथा छायाँछेत्र, खड्गदेवी मन्दिर लगाएत जिल्लाका विभिन्न स्थानमा पनि पुग्ने बताएका छन् ।