© २०२३
संसारमा बिच भलिवलको विकास समुन्द्री तटहरूमा मात्र भएको देखिन्छ । समुन्द्री तट मनोरञ्जनात्मक पर्यटनका लागि उपयुक्त थलो पनि मानिन्छ । तसर्थ यसलाई मनोरञ्जनात्मक खेल पनि भन्ने गरिन्छ । यही खेललाई नेपाल जस्ता पहाडी मुलुकमापनि सम्भव हुन सक्छ र अन्तर्राष्ट्रियक ण हुदै गएको यो खेललाई प्रतियोगितात्मक हिसावले हेर्दा नेपालमा पनि सम्भावना र अवसर दुवै छ भन्ने लागेर भित्राइएको खेल हो । नेपाल साहसिक पर्यटनका लागि अधिक सम्भावनायुुक्त थलो हो । नेपालका नदीहरू विभिन्न प्रकृतिका खेलकालागि पनि उपयुक्त मानिएका छन् । नदी र यससंग जोडिएका भू–भाग खेल पर्यटनका लागि सम्भावनायुक्त क्षेत्रहरू हुन् । खेलका माध्यमवाट नेपालको पर्यटन विकासमा ठूलो योगदान दिन सकिन्छ । खेल पर्यटन खेल क्षेत्रमा नयाँ अवधारणा सहित सम्भावना भएको क्षेत्र पनि मानिन्छ ।
यसै पृष्ठभूमिमा पाल्पाको रानीमहल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक थलो पनि हो । ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको कालीगण्डकीको किनारमा रहेको विश्वसम्पदा सूचिमा सूचिकृत यो दरवार र वरिपरीको यस क्षेत्रलाई प्रशस्त आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि मानिन्छ । सञ्जय मेमोरियल फाउन्डेसनले यस क्षेत्रलाई बिच भलिवलको एउटा गन्तव्य (हब) को रूपमा विकास हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै यस स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिच भलिवल प्रतियोगिता गर्न सकिने स्थानको रूपमा विकास गर्ने लक्ष्य लिएर गतवर्ष र यो वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । दुई वर्ष लगातार आयोजना गरिएको प्रतियोगिताको प्रभाव र पर्यटन क्षेत्रमा पर्ने प्रभाव र योगदानलाई मध्यनजर राख्दै यस क्षेत्रलाई तानसेन नगरपालिका र छिमेकको बगनासकाली गाउँपालिकाद्वारा संयुक्तरूपमा बिच भलिवलको हब घोषणा गरिएको छ । त्यतिमात्र नभैै नेपाल पर्यटन बोर्डले समेत आफ्नो प्रकाशन क्ष्ल ँयअगक यल द्दण्द्दद्द मा विदेशीहरूले रमाउने अर्को गन्तव्य भनेर रानीमहल क्षेत्रलाई बिच भलिवलको सम्भावनावारेमा उल्ल्ोख गरेको छ । यो पाल्पाको खेल क्षेत्रमा एउटा नयाँ अध्याय हो भने बिच भलिवलका खेलाडीका लागि ठूलो अवसर पनि हो । नेपालमा खेल क्षेत्रमा लोकप्रियता र अन्तर्राष्ट्रिय सफलताका आधारमा सरकारले भलिवललाई नेपालको एक मात्र राष्ट्रिय खेल घोषणा गरेको छ । आवश्यक न्यूनतम आधारभूत आवश्यकताका पूर्वाधार तथा उत्प्रेरणाजन्य सुविधा अपेक्षित नभएपनि नेपालमा भलिवल टिमका खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दह्रो उपस्थिति देखाउन सफल भएका छन् ।
यसले के प्रमाणित गर्छ भने नेपालमा बिच भलिवलको प्रशस्त सम्भावना छ । भलिवलको एउटा विधाको रूपमा रहेको बिच भलिवलपनि अन्तर्राष्ट्रिय पदकका लागि निकै सम्भावना भएको खेल मानिन्छ । नेपालमा यसको इतिहास लामो नभएपनि उभराउँदो खेलको रूपमा रहेको छ । हालसम्म भएका प्रतियोगिता र सहभागि नेपाली महिला बिच भलिवल टिमले राम्रो र आशालाग्दो खेल प्रदर्शन गरेका कारणले यसको विकासमा मद्दत गर्न सकियो र बिच भलिवलकै राष्ट्रिय टिम बनाउन सकियो भने यस खेलवाट पनि नेपालले धेरै अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने देखिन्छ ।
खेलका माध्यमवाट नेपालको पर्यटन क्षेत्रमा पनि मद्दत गर्न सकिन्छ भन्ने पछिल्लो अभ्यासले प्रमाणित गरिसकेको पृष्ठभूमिमा पाल्पाको रानीमहललाई खेल आयोजना स्थल छनौट गरिएको आयोजक संस्थाका अध्यक्ष निरोज मास्केको भनाइ रहेको छ । रानीमहल क्षेत्रलाई बिच भलिवलको हब घोषणा गराउने लक्ष्यलाई सहयोग गर्दै नेपाल सरकारले यसवर्ष राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि केही रकम बजेटमै उल्लेख गरी रानीमहल क्षेत्रलाई बिच भलिवलको हब निर्माण गर्ने अभियानलाई साथ दिएको थियो । नेपालको खेल इतिहासमा एउटा प्रतियोगिता सम्पन्न भै दोश्रो प्रतियोगिताको दौरान कुनै क्षेत्रलाई खेल हबको घोषणा गरिएको सायद यो पहिलो इतिहास हुन सक्छ । यसरी स्थानीय सरकारहरू सकारात्मक बन्न सक्नु त्यस प्रतियोगिताले लिएको लक्ष्य र उद्देश्यले नै उत्प्रेरित गरेको हुनुपर्छ । यो रकम (बजेट) सक्नकाला िगआयोजना गरिने खेल कार्यक्रम आयोजकहरूलाई उदाहरण बन्न सक्छ । यस कार्यले लाखौ करोडौ खर्चेर गरिने खेल प्रतियोगिता पश्चात सो स्थानमा केही नरहने प्रबृतिका लागि चुनौती पनि हो । प्रतियोगिता आयोजनाकालागि तयार पारिएको प्रस्तावमा उल्लेख गरिएका उद्देश्यहरूपनि बडो जिम्मेवार ढंगले खेलको दीर्घकालिन विकासमा प्रभाव पार्ने गरी अगाडी सारेको देखिन्छ ।
नेपालमा बिच भलिवलको वेग्लै टिम तयार हुनका लागि आवश्यक वातावरण पनि तयार पारिएको देखिदैन । नेपाल सरकारले भलिवल खेललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि सो अनुरूपको सोच र सहयोग प्रति उदासिन देखिन्छ । भलिवल खेल सम्वद्ध संस्था नेपाल भलिवल संघले पनि स्पष्ट अवधारणा बनाउन सकिरहेको देखिदैन् । संघ प्रतियोगितामा मात्र केन्द्रित हुने हो कि भलिवलको खेल विकासकालागि अध्ययन अनुसन्धान गरी सरकार वा सम्वद्ध निकायहरूलाई आवश्यक नीति नियम बनाउन सहयोग पनि गर्ने हो ? यसको सम्भावनाको पहिचान गरी राष्ट्रिय अन्तर्राष्टिय संघ संस्थासंग समन्वय र परिचालन पनि गर्ने हो भन्नेमा आफैमा अलमलमा रहेको संघले बिच भलिवललाई सम्भावना युक्त खेलको रूपमा स्वीकार गरेको देखिदैन् । यसवारे न अध्ययन, न अनुसन्धान न त यस वारे राष्ट्रिय छलफल पनि गरेको देखिदैन् । भलिवल संघका पूर्व उपाध्यक्ष निरोज मास्केको व्यक्तिगत पहल र लगानीमा विकास हुदै गएको यो खेल प्रति उदार र सकारात्मक पनि बन्न सकेको देखिदैन । भलिवलका खेलाडीहरूवाटै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय या क्षेत्रीय प्रतियोगितामा सामेल गराउने काम गरेको छ । यसलाई संघले आफ्नो उपलव्धि ठानेको छ । नेपालका विभिन्न नदीका किनार बिच भलिवलका लागि उपयुक्त हुन र यहाँवाट उत्पादन हुने खेलाडी प्रतिष्पर्धी हुन सक्छन् । संघले यी नदी किनारवाट राष्ट्रिय टिमको विकास हुन सक्छन् भन्ने कल्पनापनि गरेको देखिदैन । भलिवलका जिल्ला संघहरू पनि खेल विकासमा केन्द्रित हुन सकेका छैनन् ।
जहाँसम्म पाल्पाको रानीमहल क्षेत्रलाई बिच भलिवलको हब घोषणाको सन्दर्भलाई उल्लेख गर्नुपर्दा केही थप पहलहरूको आवश्यकता देखिन्छ । हबको घोषणावाट जिल्ला भलिवल संघ उत्साही हुनुपर्ने थियो त्यस्तो देखिदैन । रानीमहल क्षेत्र भनेको कालीगण्डकी किनारमा रहेको स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको रूपमा रहेको भव्य कलात्मक दरबार, प्राकृतिक रूपमै खेल मैदान उपलव्ध हुने बालुवाको उपलव्धता रहने क्षेत्र, पर्यटकीय आकर्षण रहेका आधादर्जन पुरातात्विक सम्पदाहरूको बिच भागमा रहेको क्षेत्र, हिन्दुहरूले विष्णु भगवानको रूप मान्ने शालिग्राम उपलव्ध हुने नदी र वालुवा, शान्त र स्वच्छ चिसो हावापानी र वातावरण रहेको क्षेत्र र तानसेन बजारबाट १२ किमी दुरीमा रहेको र १० किमी बजार क्षेत्र आउँदा झण्डै डेढ दर्जन हिमाली श्रृंखला अवलोकन गर्न पाउने, यहीँवाटै मुक्तिनाथ जाने कालिगण्डकी करीडोर जस्ता विशेषता भएपनि यी पक्ष र अवसरहरू नजरअन्दाज गरिएको कारणले पनि ठूलो सम्भाव्य क्षेत्र भनेर नदेख्नु पनि एउटा कारण देखिन्छ । त्यसैगरी पाल्पा, स्याङजा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरू यही नदीले जोडिएका जिल्लाहरू हुन् । यी जिल्लामा स्थानीय क्लवहरू गठन गरी नियमित प्रतिष्पर्धा गर्ने बातावरण बनाउन सकियो भने यहीँवाटै केही वर्ष भित्रमा बिच भलिवलका खेलाडी उत्पादन हुने र यसै क्षेत्रवाट महिला र पुरुषको राष्ट्रिय टिम बन्न सक्छ भन्ने धारणा पनि वनाउन नसक्नु हो । यी र यस्तै प्रशस्त सम्भावना बोकेको यस क्षेत्रका स्थानीय भलिवल प्रेमी खेलाडीहरूले बुझ्दा मात्र खेल, खेलाडीको विकास हुन जाने देखिन्छ । यतिमात्र होइन बिच भलिवलको केन्द्रिय संघ पनि गठन हुन जाने देखिन्छ ।
अर्काे पक्ष स्थानीय सरकारहरूले पनि खेल प्रति रुचि वढाउने र सानोतिनो लगानी विनियोजनमात्र गर्दै जाने हो भने बाह्य लगानीपनि भित्रिने छ । खेल पर्यटन पनि पर्यटन क्षेत्रको नयाँ अवधारणा विकास भइरहेको र कतिपय राष्ट्रले यसमा जोड दिदै आएका छन् । अवसरको उपयोग पनि गरिरहेको देखिन्छ ।
एउटा ठूलो व्यवहारिक सम्भावना रहेको रानीमहल क्षेत्र र घोषणा भएको बिच भलिवलको हबको दीगो विकास र पर्यटन प्रवद्र्धनमा कल्पना नगरिएको उपयोग गर्ने हो भने स्थानीय सरकार र प्रदेश सरकारको ध्यान जानु जरुरी छ । केही आवश्यक पूर्वाधार विकासमा सामान्य लगानी गर्न जरुरी छ । भलिवल खेलमा रुचिराख्ने खेलाडीहरूले किनार पर्ने पालिकाहरूमा क्लवहरू गठन गरी बिच भलिवलका बेग्लै टिम बनाई प्रतियोगिता सञ्चालन गर्ने र यसकालागि वडाहरूको सहयोग नै प्रचुर हुन्छ । जिल्लास्तरीय प्रतियोगितामा पालिकाहरूको सहयोग र प्रदेशस्तरीय प्रतियोगितामा प्रदेश सरकार एवं राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि संघले सहयोग गर्ने व्यवस्था मिलाउन सकिन्छ ।
यसका साथै बिच भलिवलमा आकर्षित हुन उत्प्रेरित गर्ने र नयाँ खेलाडी जन्माउन अभिप्रेरित गर्ने अभियान चलाउन जरुरी छ । बिच भलिवलको विकासमा नीजि क्षेत्रलाई आकर्षित गरी बिच भलिवल खेल विकासमा सहभागि हुन अभिप्रेरित गराउन सकिन्छ । आगामी वर्षदेखि स्थानीय सरकार (नगरपालिका) वा खेलकुद सम्वद्ध निकाय वा नीजि क्षेत्र यी निकायको सहकार्यमा क्लव वा संघद्वारा सञ्चालन निरन्तरता दिने वातावरण निर्माण गर्न आवश्यक छ । यस कार्यका लागि पाल्पाका दुई चारजनामात्र सक्रिय हुने हो भने मात्र पनि सम्भव छ ।