© २०२३
लुम्बिनी, २८ असोज– ‘ग्रिन लुम्बिनी, क्लिन लुम्बिनी’ अभियान अन्तर्गत बुद्धजन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र शनिबार सरसफाई गरिएको छ । लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूको सहभागितामा बसपार्कदेखि केन्द्रीय नहर हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको हो ।
कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र नियमित रूपमा सरसफाई गर्दै आएपनि लुम्बिनीलाई सफा र सुन्दर राख्न सबै पक्षलाई जिम्मेवार बनाउने बउद्देश्यले बेला बेलामा सरसफाई अभियान सञ्चालन गर्ने गरेको जनाएको छ । शनिबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेत सहितको उपस्थितिमा सरसफाई गरिएको हो ।
बुद्धजन्मस्थल लुम्बिनीलाई स्वच्छ र सफा राख्ने उद्देश्यले नियमित सरसफाईसँगै समय–समयमा अभियान चलाएर सरसफाई गर्ने गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले नीति तथा कार्यक्रममा समेत लुम्बिनीलाई सफा र स्वच्छ राख्न कोषको अगुवाईमा बर्षमा कम्तीमा २ वटा र अन्य संघसंस्थासँग मिलेर सरसफाई गर्ने योजना बनेको बताए ।
शनिबार बसपार्क, हेलिप्याड क्षेत्र, केन्द्रीय नहरको दायाँ बायाँ हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।यसअघि बुद्धजयन्तीको अवसर पारेर बैशाख महिनामा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पदाधिकारी र कर्मचारीहरूको सक्रियतामा सरसफाई गरिएको थियो ।