© २०२३
नेपालको वर्तमान अवस्थामा केही सकारात्मक संकेत देखिएतापनि यहाँको राजनीतिक प्रणाली, शासन ब्यवस्था, राजनीतिक दलका नेताहरूबाट देश र जनतासंग भएको बिश्वासघात, त्रिपक्षीय चरम बिदेशी हस्तक्षेप आदि बिषयको समग्ररूपमा अध्ययन गर्दा नेपालको अवस्था फुटेर चिरैचिरा भएको काठको फ्रेमभित्रको सिसा जस्तो देखिन्छ । टाढाबाट हेर्दा सिङ्गो जस्तो देखिएपनि वास्तवमा फुटेर चूरचूर भैसकेको छ । जति बेलापनि भुईमा पोखिन सक्छ । बिभिन्न बिकास योजनाहरूको बहाना बनाएर नेपाल पसेका विदेशी गैर सरकारी संस्थाहरूले आर्थिक प्रलोभन र देश बिदेश घुमाईदिने नाममा नेपालका निर्वाचित जनप्रतिनिधि र राजनीतिक दलका प्रभावशाली नेताहरूलाई आफ्नो दास बनाए ।
लामो समयसम्म सत्ताको स्वाद चाख्न नपाएका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आदिका लागि संघर्ष गर्दै आएका राजनीतिक दलका नेताहरू आईएनजिओका जालभित्र कैद हुन पुगे । यहीँबाट नेपालको राजनीतिमा भ्रष्टीकरण सुरु भयो । कुनैपनि देशलाई गुलाम बनाउन सर्बप्रथम त्यस देशको इतिहास, संस्कृति, परम्परा र सामाजिक मूल्य मान्यतामाथि प्रहार हुँदो रहेछ । नेल्सन मण्डेलाले भनेका थिए– कुनै देशलाई गुलाम बनाउन भन्दा पहिले त्यस देशको शिक्षा प्रणालीलाई ध्वस्त पारिन्छ । नेपालमा यस्तै भयो । हुन त नेपालमाथि बिदेशी हस्तक्षेप २०४६ सालभन्दा पहिलेदेखि हुँदै आएको छ तर त्यसपछि बहुपक्षीय कोंणबाट बिदेशी आक्रमण सुरु भयो । दशकौंसम्म नेपाल भारतको एकाधिकारी बजारका रूपमा रह्यो । नेपालको जलस्रोत, मानव संसाधन र अन्य प्राकृतिक साधनमा समेत भारतकै नियन्त्रण रह्यो । बाँकी विश्वका अन्य ठूला राष्ट्रहरूले नेपालप्रति खासै रुची राखेनन् । सबैले भारतीय आँखाबाट नेपाललाई हेर्दै गरे ।
समयको परिवर्तनका साथमा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा पनि परिवर्तन हुँदै जाँदा नेपाल महत्वपूर्ण रणनीतिक क्षेत्र बन्न गयो । साथै नेपालको भूगर्भमा प्रचुरमात्रामा लुकेर रहेको युरेनियम लगायतका अन्य बहुमूल्य प्राकृतिक खनिज पदार्थ र चीन तथा भारतको बढ्दो विश्वब्यापी प्रभाव आदिका कारणले अमेरिकाले नेपालमा आफ्नो सैन्य अखडा कायम गर्न‘ुपर्ने अनिवार्य देखेर यहाँ आफ्नो हस्तक्षेपकारी भूमिका बढाउन थाल्यो । विश्वका धेरै राष्ट्रहरूले नेपालको बारेमा धेरै कुरा थाहा नपाएको भएपनि नेपालीहरू बीर जाति हुन । यिनीहरू मृत्युसित डराउँदैनन् भन्ने छापका बारेमा नेपाल बाहिर आजपनि चर्चा हुँदैछ । त्यसकारण सुरु सुरुमा नेपालमाथि दबाबपूर्ण हस्तक्षेप नगरेर हाम्रो सामाजिक मूल्य मान्यता, भाइचारा, राष्ट्रिय एकता र शिक्षा आदिमाथि प्रहार गर्न थाले । रेडक्रस सोसाईटी नामको आईएनजिओले भन्ने गरेको मूलमन्त्र ‘मानव सेवा’ भएपनि आफ्नो विश्वव्यापी प्रभावलाई ईसाई धर्म प्रचारको माध्यम बनाउँदै आएपनि पञ्चायती शासन व्यवस्था हुँदा नेपालमा रेडक्रसले धर्म परिवर्तन गराउन सकेको थिएन । किनकी पञ्चायत कालमा रेडक्रस लगायतका सबै अन्तर्राष्ट्रिय संघ संस्थाहरूको नेपालभित्रको नेतृत्वमा राजपरिवारका सदस्यहरू हुन्थे र केन्द्रदेखि जिल्लासम्मका सबै पद र सदस्यहरूमा राजतन्त्रका समर्थक मात्रै हुन पाउँथे । नेपाललाई हिन्दु राष्ट्र भनिएको भएपनि यहाँ परापूर्व कालदेखि नै हिन्दु, मुस्लिम र बौद्धहरू एक आपसमा मिलेर बस्दै आएका थिए । ईशाई पादरीहरूलाई पृथ्वीनारायण शाहले देश निकाला गरिदिएका थिए किनकी ईशाई धर्म प्रचारकहरू जुन जुन देशमा पुगे सर्बप्रथम त्यस देशको इतिहास, परम्परा, मूल्य मान्यता, सामाजिक एकता र शिक्षामाथि प्रहार गरेर जनता जनता लडाउने, साम्प्रदायिक द्वन्द्व भड्काउने र त्यस देशको स्वतन्त्र अस्तित्व नै समाप्त पार्ने काम गरेकोले राजा पृथ्वीनारायण शाहदेखि २०४६ सालसम्म नै नेपालको राजदरबार इसाई धर्म प्रचारका लागि अबरोधक बन्यो । जबतक नेपाली जनताको आपसी एकता बलियो रहन्छ, तबतक नेपालमा सैन्य अखडा खडा गर्न सकिदैन भन्ने कुरा राम्रोसित बुझेका अमेरिका र युरोपीय संघका राष्ट्रहरूले सर्वप्रथम किस्तामा नेपालबाट राजतन्त्र समाप्त गर्ने षडयन्त्र गर्न थाले ।
निरंकुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाका सम्बाहकहरूले जसरीपनि नेपाली कांग्रेस र कम्युनिष्टहरूलाई नेपालको राजनीतिक व्यवस्थामा सामेल हुन नदिएपछि नेपाली कांग्रेस र नेपालका कम्युनिष्टहरूले पञ्चायती व्यवस्थाकाबिरुद्ध आन्दोलन गर्न नेपाली जनतालाई संगठित गर्न थाले । नेपालका कम्युनिष्टहरूले नेतृत्व गरेका आन्दोलनहरूंमा अन्तर्राष्ट्रिय सहयोग र समर्थन नभएपनि नेपाली कांग्रेसले नेतृत्व गरेका आन्दोलनहरूमा कुनै न कुनैरूपमा पश्चिमी देशका सत्ताधारी पार्टीहरूको समेत समर्थन हुने गर्दथ्यो । त्यो समयमा मानवअधिकार र प्रजातन्त्रको आबरणभित्र लुकेर नेपाललाई तहसनहस पार्ने कु मनसायले नेपाल पसेका पश्चिमका ईशाई मिसिनरीहरूलाई बुझ्न र चिन्न सक्ने क्षमता नेपालका राजनीतिक दलमा पनि भएन । पञ्चायती व्यवस्थासंग वाक्कदिक्क परेका नेपाली जनताले पञ्चायती व्यवस्था विरोधी आन्दोलनको बाहिरी राष्ट्रहरूबाट समर्थन पाउँदा आन्दोलनको सफलता सम्झने काम भयो । नेपाली जनताको यस्तो मनोदशाबाट फाईदा उठाउँदै बिभिन्न आईएनजिओहरूले नेपाली जनताका घरदैलोमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन थाले । २०४६ सालसम्म नेपालमा खुलारूपमा धर्म परिवर्तन गराउने अवस्था नभएका कारणले नेपालीलाई लुकीचोरी भारतमा लगे । क्रिश्चियन बनाउने काम हुन थाल्यो । २०४६ सालको आन्दोलन पश्चात भने नेपालमै खुलारूपले धर्म परिवर्तन गराउन पाउने छुट भएपछि अमेरिकी र युरोपीय देशका आईएनजिओहरूले नेपालका दुर्गम पहाड र गाउँबस्तीमा पुगेर नेपाली जनतालाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने अभियान नै चलाएका छन ।
२०४६ सालको आन्दोलन पश्चात बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अमेरिका गएको बेला अमेरिकी उपहारका रूपमा आफ्ना कार्यकर्ता पाल्न भन्दै भिजन २००० लिएर आए । भिजन २००० ले ईशाई धर्म प्रचारकका लागि प्रत्येक नेपालीका घर घर पुग्ने ट्रयाक खोलिदियो । त्यसपछि त नेपालमा आईएनजिओहरूको भेल नै पस्यो । देश बर्बाद हुनुमा यहाँका राजनीतिक दलहरू मात्रै नभएर आम नेपाली जनता पनि त्यत्तिकै दोषी छन् । पैसा पाए जेपनि बेच्ने अविद्या र अभावले कुहिरोको काग जस्तै दिशाबिहीन भएर भटकीरहेका तड्पीरहेका नेपाली जनताले थोरै पनि आर्थिक प्रलोभन पाउँदा आफ्नो धर्म जोगाउन सकेनन् । आफ्नो संस्कृति जोगाउन सकेनन् । आफ्नो मूल्य मान्यता, स्वाभिमान र परम्पराको महत्व बिर्सिए । नेपालमा आईएनजिओ ल्याउने काममा नेका र एमाले मात्रै दोषी छैनन् । माओबादीले पनि युरोपीयन संघका आईएनजिओहरूलाई रातो कार्पेट बिछाएर स्वागत गरे । आईएनजिओहरूका कारणले सदियौदेखि भावनात्मकरूपमा आपसमा मिलेर बस्दै आएका नेपाली जनताका बीचमा फुट मात्रै होईन, दुष्मनीपूर्ण सम्बन्ध बिकास हुँदैछ । नेपाललाई जाति, धर्म, क्षेत्र, लिङ्ग, भाषा, संस्कृति, परम्परा, र राष्ट्रियता आदि बिषयमा अनमेल पैदा गराएर समाप्त पारिदैछ । आज नेपालमा परिस्थिति यस्तो भैसकेको छ कि सिङ्गो राष्ट्रका बारेमा सोंच्नेसम्मका कुरापनि हराउँदैछन् । नेपालमा उत्पन्न राष्ट्रिय संकट र बिदेशी हस्तक्षेपको चर्चा हुँदा भारतको नेपालप्रतिको दृष्टिकोंण र उसको भूमिकाको चर्चा भएन भने त्यो अपुरो र अधुरो हुन जान्छ । १८१६ को सुगौली सन्धि पश्चात नेपालमा घटेका कोत हत्याकाण्डदेखि नारायणहिटी राजदरबार हत्याकाण्डसम्म जे जति घटनाहरू भए त्यसमा चाहे कम्पनि सरकार होस वा स्वतन्त्र भारत सरकार होस सबै सरकारहरूको बिशेष भूमिका रहेको पाईन्छ ।
२००७ देखि २०६२/०६३ सालसम्म नेपालमा भएका राजनीतिक आन्दोलन र त्यस पछि आजसम्म नेपालमा जे जस्ता राजनीतिक घटनाक्रमहरू भैरहेका छन, यी घटनाहरूमा सतहमा नेपालको आन्तरिक समस्या जस्तो देखिएपनि यसको अन्तर्यमा घुसेर बुझ्ने प्रयास गर्ने हो भने बलिदान नेपाली जनताको र निर्णय भारतको हुँदै आएको छ । सदियौंदेखि नेपालमाथि कायम गर्दै आएको बिशेषाधिकारलाई भारतले किमार्थ छोडनेवाला छैन । त्यसकारण अमेरिकाले नेपालमा फौजी अखडा राखेर भारतको काँधमा बन्दुक राखेर चीनसित लडने रणनीति बनाएर नेपाल पसेको छ । नेपालमा अमेरिकी सैन्य अखडा खडा हुनु कालान्तरमा भारतका लागि पनि प्रत्युत्पादक हुने कुरा बुझ्दाबुझ्दै पनि चीन सितको दुष्मनीका कारणले भारतले नेपालमा खडा भैरहेको अमेरिकी सैन्य अखडाको बिरोध गर्न सकेको छैन । बरु सहयोगी देखिएको छ ।
नेपालको यस्तो कमजोर अवस्थाबाट फाईदा उठाउँदै अमेरिकाले चीनसित लडन नेपालमा एमसिसीको बहानामा आफ्नो सेनाको अखडा खडा गरिरहेको छ । आफ्नो साँधमा दुश्मनलाई ल्याएर राखेपछि चीनले पनि आफ्नो देशको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने कुरा निश्चित छ । यस्तो परिस्थितिमा नेपाललाई कसरी बचाउन सकिएला भन्ने प्रश्न मनमा उठिरहेको छ । हामीहरू बीर पुर्खाका सन्तान हौं । अव यो बखानमात्रै गरेर नेपाल जोगिन सक्दैन । यो राष्ट्रको रक्षाका लागि हाम्रा बीर पुर्खाहरू जसरी नालापानीको किल्लामा लडेका थिए, त्यो इतिहास दोहो¥याउनु पर्ने बेला आयो । हाम्रो लडाई सर्बप्रथम बिदेशी दलालहरूकाबिरुद्ध हुनुपर्छ र विदेशी दलाललाई परास्त गरेपछि यिनीहरूका विदेशी मालिकहरूलाई सजिलै देशबाट भगाउन सकिने छ ।