© २०२३
बुटवल, २४ असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा जारी स्व.गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० को बुधबार सम्पन्न खेलमा बुटवल युनाईटेड र आर्दश युवा अन्तिम आठमा स्थान बनाउन सफल भएका छन । बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा आर्दश युवा क्लबको आयोजनामा वडा नं १५ स्थित उजेलापुर खेलमैदानमा भएको खेलमा आदर्श युवा क्लब (बि) ले मायादेवी युवा क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आर्दशका अभिषेक रानाभाट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि बुटवल युनाईटेड एफसी पनि सिम्रिक एफसीलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । बुटवल युनाईटेडका गोलकिपर बालकृष्ण सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि पहिलो चरणको अन्तिम खेलमा शान्तिदिप युवा क्लबले तिलोत्तमा एफसी पाल्पालाई २—० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । खेलमा शान्तिदिपका रेशम पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको मुख्य प्रायोजन स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल तथा सहप्रायोजन स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापाले गरेका छन ।
विहिबार ह्वाईट लोटस र ईन्टर स्पोट्स एफसी, आर्दश युवा क्लब सि र घण्टादेवि एफसी दाङका बिचमा खेल हुने क्लबका सचिव साजन खातीले बताए । प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।