© २०२३
बुटवल, २२ असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा जारी स्व. गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० को सोमबार सम्पन्न खेलमा सिम्रिक युथ क्लब, मायादेवी युवा क्लब र बुटवल युनाईटेड एफसी विजयी भएका छन ।
बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा आर्दश युवा क्लबको आयोजनामा शनिबारदेखि वडा नं १५ स्थित उजेलापुर खेलमैदानमा भएको पहिलो खेलमा सिम्रिक युथ क्लबले एवाईसी कैलाशनगरलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
यसैगरि दोस्रो र तेस्रो खेलमा लुम्बिनी तिलोत्तमा फिट एण्ड फाईन र सेभन स्टार एफसी उपस्थित नभएपनि वाक ओभर पाउदै मायादेवी युवा क्लब र बुटवल युनाईटेड एफसी विजयी घोषित भए । प्रतियोगिताको मुख्य प्रायोजन स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल तथा सहप्रायोजन स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापाले गरेका छन ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष मनिष काफ्लेले बताए । यसैगरि उपविजेता टिमले नगद २३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । असोज ३० गतेसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।
मंगलबार पहिलो खेल बेल्बास एफसी र डिएफ युनाईटेड, दोस्रो मदन भण्डारी एफसी र लाफिङ बुद्ध क्लब तथा तेस्रो खेलमा न्यु ईरा क्लब र ठुलीचौर युवा क्लबका बिचमा खेल हुने क्लबका सचिव साजन खातीले बताए ।