© २०२३
धनगढी, २१ असोज ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले उद्घाटन गरेका हुन् ।
ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू अधिवेशनमा सहभागी छन् ।
प्रदेश अधिवेशनको उद्घाटनमा बोल्दै नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । इजरायलमा भइरहेको हमलामा परेर घाइते भएकाहरूका विषयमा पनि सरकारले चासो नदिएको पोखरेलले बताए ।
्नेकपा एमाले पहिलो पार्टी मात्रै भएर हुँदैन । हामी पहिलो पार्टी हुँदा हुँदै पनि हामीले केन्द्र र प्रदेशमा हामीले सरकार बनाउन सकेका छैनौँ । त्यसको अन्त्यको लागि कसैको सहारा विना एक्लै बहुमत प्राप्त गर्ने गरी काम गर्न जरुरी छ, पोखरेलले भने ।
नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताएका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिएका छन् ।
यस्तै नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले निर्वाचनमा मत बाँडिँदा मनहरू पनि बाँडिने गरेको तर्क दिएका छन् । अधिवेशनका प्रमुख अतिथि एवं पार्टी अध्यक्ष केपी शर्मा ओलिले भने सम्बोधन गर्न बाँकी छ । अहिले बन्द सत्र चलिरहेको छ । यसपछि हुने बन्द सत्रबाट नेतृत्व चयन हुने छ ।
अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागी छन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेका छन् ।
बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरी ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरी १८ जना प्रतिनिधि रहेका छन् भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरी ७५ जना प्रतिनिधि रहने छन् । यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन् नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् ।
पार्टीको बुद्धिजीवी विशेष इलाका कमिटीबाट एक महिला र चार पुरुष गरी पाँच जना प्रतिनिधि र मजदुर विशेष इलाका कमिटीबाट एक महिला, चार पुरुष गरी पाँच जना प्रतिनिधि छन् ।
अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।
सुदूरपश्चिमको नेतृत्वका लागि तीन जना आकाङ्क्षी छन् । प्रदेशका उपाध्यक्ष रहेका कमल तिमिल्सेना, एमाले नेता कृष्णप्रसाद जैसी र पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा सङ्घ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह नेतृत्वका लागि दौडमा छन् ।