© २०२३
काठमाण्डौ, २१ असोज । १९औं एसियाली खेलकुद (एसियाड) मा आयोजक चीनले कीर्तिमान २०१ स्वर्ण जितेको छ । यो चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान पनि हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।
आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं एसियाडको सबै खेलको स्पर्धा सकिएको छ । जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।
यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३ औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३ औं स्थानमा थियो ।
यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन । अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।