Butwal Today

एमाले अधिवेशनः अध्यक्षका उम्मेदवार शाही र सिंहद्वारा उम्मेदवारी फिर्ता

१३ आश्विन २०८०, शनिबार
अ+
अ-

सुर्खेत, १३ असोज ।

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीका अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको शाहीले बताए ।

प्रदेशको प्रथम अधिवेशनमा प्रदेश कमिटीको अध्यक्ष हुने इच्छा सहित आफूले मनोनयन दर्ता गरेको उनले बताए । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए । उनले संघीयतापछिको पहिलो प्रदेश सभाको पूर्ण कार्यकाल नेतृत्व गरेका हुन् । अध्यक्ष पदको लागि कर्णालीमा शाहीसहित पाँचजनाको उम्मेदवारी दर्ता भएको थियो । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।