© २०२३
सुर्खेत, १० असोज ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले एक्लैको बलबुताले सरकारको नेतृत्व गर्ने गरी विभिन्न अभियानहरु सञ्चालन गरिरहेको बताएका छन् ।
एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई बुधबार सम्बोधन गर्दै महासचिव पोख्रेलले एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अघि बढेको बताएका हुन् । उनले घेराबन्दीलाई तोडेर एमाले नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न जरुरी रहेको बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने बताउँदै उनले सोही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न निर्देशन दिए ।
उनले जनताको रोजाइको पहिलो पार्टी एमाले रहेको दावी गरे । ‘हाम्रो पार्टी सरकारमा भएको बेला आर्थिक वृद्धि उच्च थियो । अहिलेको सरकार सरकार जस्तो छैन,’ उनले भने, ’तर पनि हाम्रो पार्टीलाई चौतर्फी घेरबन्दी गरिएको छ, २०८४ सालमा एमालेको एकल नेतृत्वमा सरकार बन्छ । एमाले एक्लैको बलबुताले सरकारको नेतृत्व गर्ने गरी विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छौं ।’
प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने र एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ । पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने दावी गरे ।