© २०२३
सुर्खेत, ९ असोज ।
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मिति नजिकिएसँगै तीब्र तयारी चलेको छ । यही असोज १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने अधिवेशनको लागि नेतृत्वका आकांक्षीहरु नेता तथा कार्यकर्ता भेटमा व्यस्त छन् ।
अधिवेशनको मिति नजिकिँदै गर्दा सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि कर्णालीमा भने मतदान हुने निश्चित देखिन्छ । नेतापिच्छे गुट उपगुट बनिरहेका कारण मतदान हुने सम्भावना देखिएको हो । कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार ८ सय ३७ जना छन् ।
प्रदेश अधिवेशनबाट चुनिने नेतृत्वका लागि मुख्य गरी पाँचजना आकांक्षीहरु देखिएका छन् । जसमा कालिकोटका मीनबहादुर शाही, प्रदेशका पूर्व सभामुख राजबहादुर शाही, कालिकोटकै प्रेमबहादुर सिंह, पोलिटब्युरो सदस्य गुलावजंग शाह र सुर्खेतका पूर्वसांसद सदस्य ध्रुवकुमार शाही आकांक्षी देखिन्छन् ।
यद्यपि प्रदेश अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच अझ बढी टक्कर हुने सम्भावना बढेको देखिन्छ । केन्द्रमा एउटै गुटका भएपनि कर्णालीमा भने पार्टीका स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीका गुट सक्रिय छन् । शाह कँडेल टीमबाट र शाही बोगटी टीमबाट अध्यक्षका लागि दाबेदार मानिन्छन् । शाही राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् । शाह पूर्व सांसद हुन् ।
एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको थियो । लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव अन्य प्रदेशमा पनि देखिन थालेको छ । केन्द्रमा सबैका सर्वमान्य नेता पार्टी अध्यक्ष केपी शर्मा ओली भएपनि तल्ला कमिटीहरुमा नेताहरुले गुट बनाउन थालेका छन् ।