© २०२३
पोखरा, २ असोज । घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि चुमेको छ । मंगलबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ सेटमा पराजित गर्दै गण्डकीले उपाधि चुमेको हो । गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता पुलिस भने १ लाख रुपैयाँमा चित्त बुझायो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे वेस्ट ब्लकर, किरण गुरुङ वेस्ट स्पाइकर र रमेश केसी वेस्ट कोच बने । पुलिसका कुलबहादुर थापा वेस्ट सर्भर, अभिषेक थापा वेस्ट सेटर र भीम गाहा वेस्ट लिबेरो घोषित भए ।
गत वर्ष पनि दुवै टिम फाइनल पुगेका थिए । लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । प्रकाश नपुगेका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । दोस्रो सेट गण्डकी २५–१९ ले जितेर बराबरी खेल्यो । तेस्रो सेट भने पुलिसले आफ्नो पक्षमा गयो । उसले २५–२१ मा जिते पनि पछिल्ला २ सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो ।
चौंथो सेट जितेर उपाधि जित्ने दाउमा रहेको पुलिसले २३–२० को स्थितिको लय गुमाउँदै गण्डकीलाई जित सुम्पेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २८–२६ मा चौंथो सेट जित्नुका साथै अन्तिम सेट भने सहज १५–११ मा कब्जा जमायो ।
पुरुषतर्फ उपविजेतामा सीमित भएको पुलिसले महिलातर्फको उपाधि जितेको छ । फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेताले १ लाख पायो । गत वर्ष पनि नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए । आयोजक संस्थाका अध्यक्ष स्वगतसिंह भण्डारीले लामाचौर महोत्सवका रुपमा भलिबल प्रतियोगिता महत्वपूर्ण भएको बताए ।