© २०२३
सुनवल, ३० भदौ । नेपालमा कुष्ठरोग निवारण घोषणा भएको एक दशक बढि बितिसक्दा पनि पश्चिम नवलपरासीमा कुष्ठरोगीको संख्या घट्न सकेको छैन । जिल्लामा ७० जना नयाँ कुष्ठरोगी थपिएका छन् भने पहिचान हुन नसकेको धेरै कुष्ठरोगी रहेको अनुमान गरिएको छ । स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत बजरंगी चौधरीले जिल्लामा कुष्ठरोगको भयावह अवस्था देखिएको बताए । गत आर्थिक वर्ष २०७९/०८० मा ७० जना नयाँ कुष्ठरोगी भेटिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ७७ जना कुष्ठरोगी भेटिएका थिए ।
गत वर्ष प्रतापपुरमा बजेट अभावमा रोग पहिचानको काम प्रभावकारी नहुदा केही संख्या कम भएपनि कुष्ठरोगी बढ्दै गएको चौधरीले बताए । सबैभन्दा बढि बर्दघाटमा १७ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा ६ जना मात्र कुष्ठरोगी भेटिएकोमा गत आर्थिक वर्षमा यो संख्या ह्वात्तै बढेको हो । यसैगरी सुनवलमा १५, रामग्राममा ११, पाल्हीनन्दन र सरावलमा १०/१०, सुस्तामा ५ र प्रतापपुरमा २ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । १४ वर्ष मुनिका एक जना बालकमा पनि कुष्ठरोग देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुष्ठरोग पहिचानका लागि स्थानीय तहबाट प्रभावकारी रूपमा अझै पनि काम हुन नसकेको सरोकारवालाहरूको भनाइ छ । प्रभावकारी कार्यक्रम बनाएर स्थानीय तहले अभियानको रूपमा कुष्ठरोग पहिचानको काम गर्नुपर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जोड दिए । कुष्ठरोगी भएको थाहा पाउँदा पाउँदै पनि उपचारमा नआउनेको संख्या धेरै भएकाले जनचेतनाका कार्यक्रम संञ्चालन गर्नुपर्ने पनि विज्ञहरूले बताएका छन् ।
‘गाउँमा कुष्ठरोगि भएको थाहा पाएपछि सम्झाई बुझाई गर्दा समेत केही भएको छैन् किन जानु उपचार गर्न भन्ने धेरै छन् बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले भने, पछिल्लो पटक पहिचान गरी उपचारको दायरामा ल्याउनुनै मुख्य चुनौति भएको छ ।’ बारा जिल्लापछि नवलपरासीमा सबैभन्दा धेरै कुष्ठरोगी भेटिएका छन् स्वास्थ्य कार्यालय प्रमुख पन्थीले भने, सबैभन्दा बढि गम्भीर र जिम्मेवार स्थानीय तह बन्नुपर्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । निवारण घोषणा भएसँगै नेपालमा कुष्ठरोगीको संख्यामा कम हुने, कुष्ठ प्रभावित व्यक्तिले नियमित उपचार सेवा पाउने सबैको विश्वास भएपनि त्यसो हुन नसक्दा रोगिको संख्या बढ्दै गएको छ । संघीय सरकारले पनि कुष्ठरोग निवारणमा प्रभावकारी रूपमा काम गर्न सकेको छैन ।
यसैगरी नवलपरासीमा क्षयरोग पनि गम्भिर स्वास्थ्य समस्याको रूपमा देखिएको छ । क्षयरोगको पहिचान र निवारणमा प्रभावकारी काम हुन नसक्दा अहिले क्षयरोगीको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार हाल जिल्लामा ४ सय ७० जना क्षयरोगि छन् भने गत आर्थिक वर्षमा १९ जना क्षयरोगीको मृत्यु भएको छ । गत वर्ष सुस्ता, पाल्हीनन्दन र प्रतापपुरमा क्षयरोगी पत्ता लगाउन शिविरनै सञ्चालन गरिएको थियो । क्षयरोगी पनि समयमै अस्पताल नआउने र अन्तिम समयमा मात्रै अस्पताल आउने गरेका कारण कतिपयको रोग निधानमा समस्या हुने गरेको छ ।
सरकारले २०५० सम्ममा क्षयरोग निवारण घोषणको लक्ष्य लिएर क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई अगाडी बढाएको छ । क्षयरोगको निदान र उपचार सेवा देश भरीका सबै स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । हरेक क्षयरोगीले १ वर्षमा १० देखि १५ जना स्वास्थ्य मानिसलाई क्षयरोग सार्न सक्छ । स्वास्थकर्मीका प्रत्यक्ष निगरानीमा उपचार (डट्स) विधि नीतिगत रूपम कार्यान्वयनमा ल्याएको छ । बिरामीले ६ महिनासम्म औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ, तर समयमै उपचार नगर्दा अर्को व्यक्तिमा सर्ने र रोग गम्भिर बन्दै जाने समस्या चुनौतिको रूपमा देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक नोदनारायण चौधरीले सबै पक्ष मिलेर रोग निवारणको अभियानमा लाग्नुपर्नेमा जोड दिए । नवलपरासीमा कुष्ठ रोग र क्षयरोगको अवस्था गम्भीर रहेकाले छिटो भन्दा छिटो रोगी खोजी गर्नेतर्फ लाग्नुपर्ने बताए ।