Butwal Today

काँग्रेसमा अनुशासन उल्लङ्घनका २१ सय उजुरी

३० भाद्र २०८०, शनिबार
अ+
अ-

काठमाडौँ, ३० भदौ ।

नेपाली काँग्रेसमा अनुशासनको कारबाही माग गर्दै २१०० बढी उजुरी परेका छन् । वडाका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी परेको हो ।

अनुशासन समितिका अनुसार प्राप्त उजुरीको प्रकृति अनुसार अध्ययन सुरु भएको छ । दर्जन बढी केन्द्रीय सदस्य विरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । प्राप्त भएका मध्ये स्थानीय, प्रदेश र संघीय निर्वाचनमा काँग्रेस उम्मेदवारलाई असहयोग र अन्तर्घातका उजुरी बढ्ता रहेको अनुशासन समितिले जनाएको छ ।

४६ जिल्लाबाट अनुशासनको कारबाही माग गर्दै उजुरी दर्ता गरिएको छ । सबैभन्दा बढी उजुरी मधेश प्रदेशका आठ जिल्लाबाट छ । अनुशासन समितिले उजुरीका लागि ३० भदौसम्मको अन्तिम म्याद तोकेको छ । जिल्लाले पठाएका उजुरी प्रदेशले समयमा केन्द्रमा नपठाएकाले म्याद थप गरिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएमा वा त्यस्तो उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा वा निर्वाचनको समयमा पार्टीको उम्मेदवारका विरुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध गरेमा वा असहयोग हुने कार्य गरे अनुशासन उल्लङ्घन भएको ठहर हुने विधानको व्यवस्था छ । साथै, पार्टीको विधान, नियमावली, आदर्श, सिद्धान्त, पार्टीको आचारसंहिता पालना नगर्नु र नीति विपरीत कार्य गर्नुलाई अनुशासन उल्लङ्घन भएको ठहर्ने पार्टी विधानको व्यवस्था छ ।

अनुशासन समितिले पूर्णता प्राप्त गरेसँगै उजुरीका प्रकृति हेरेर अध्ययन सुरु गरिएको समितिले जनाएको छ । समितिले मुख्यगरी महासमिति बैठकलाई ध्यानमा राखेर अध्ययन गरेको हो ।

२५ जिल्लामा महासमितिका लागि अधिवेशन भएको छैन । महासमिति प्रतिनिधि छनोट नभएका ती २५ जिल्लाबाट आएका उजुरीलाई प्राथमिकता दिएको अनुशासन समितिले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति प्रतिनिधि छनोट गरिने व्यवस्था छ ।

अनुशासन उल्लङ्घनका लागि दुई प्रकृतिबाट उजुरी दिने व्यवस्था छ । जिल्ला र प्रदेशले कारबाहीको माग गर्दै केन्द्रमा सिफारिस गर्ने व्यवस्था छ । उजुरी दिने दोस्रो विधि, उम्मेदवार स्वयंले असहयोग गर्नेको नाम किटान गरेर उजुरी गर्ने व्यवस्था छ ।